समाचार

आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् ।

मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो ।

उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ ।

सभापति देउवाले शनिबार भने पार्टीबाट रौतहट २ मा विजयी भएका सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने स्पष्ट पारेका छन् ।

आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि सभापति देउवाले शनिबार विज्ञप्ति नै निकाल्नु पर्यो ।

देउवाले प्रष्टिकरण दिँदै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ उल्लेख गर्दै १२ वर्ष पूरानो मुद्दामा आफूले सोही संकेत गरेको उल्लेख गरेका छन् ।

उनले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अष्प्रष्टता चिर्न विज्ञप्ति निकालेको बताएका छन् । कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरूरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्न खोजेका छन् ।

देउवाले आलममाथिको मुद्दामा दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने भन्दै निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने मान्यता रहेको बताएका छन् ।
आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इँटाभट्टामा पोलेर मारेको आरोप लागेको छ ।

सोही मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो विरोध गर्ने सबैलाई मार्दै गाउँमा आतंक मच्चाएको भन्द्र उनलाई एक क्रुर अपराधीका रुपमा पिडितहरुले चित्रण गरिरहेका छन् ।