विज्ञान प्रविधि

अमेरिकामा मदिरा सेवन गरेर सवारी साधन चलाउन खोज्दा स्टार्ट नहुने गाडी निर्माण गर्नुपर्ने कानून बन्दै

अमेरिकी सदनका दुई जना सिनेटरले गत बुधबार आगामी दशकको मध्यसम्ममा अमेरिकामा निर्माण गरिने हरेक गाडी भित्र चालकले पिएको मदिराको मात्रा मापन गर्ने संयन्त्र जडान गर्नै पर्ने वाध्यकारी ब्यबस्था गर्ने कानून लागू गरिने बताएका छन् ।  डेमोक्र्याटिक सिनेटर टम उडाल र रिपब्लिकन सिनेटर रिक स्कटले गाडी निर्माण कम्पनीहरुले मदिराको मात्रा मापन गर्ने संयन्त्र गाडी भित्रै जडान गरेर मात्र गाडी निर्माण गर्नु पर्ने कानून सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका हुन् । सिनेटर उडालले समाचार संस्था रेउटर्ससँग भनेका छँन् “हामीलाई विश्वास छ यो प्रबिधि लागू हुनेछ । यो बिषय अत्यन्त जरुरी भई सकेको छ ।” उनी थप्छन् “अटोमोबाईल उद्योगले गाडी निर्माण गर्दा नै यो प्रबिधि जडान गरेर सहयोग गर्ने पनि विश्वास गरेका छौं । तर सहयोग गरेपनि नगरेपनि हामीले लागू गर्नै पर्छ, किनकि यो प्रबिधि मानवीय जीवनको हिस्सा बनेर बसेको छ ।”

अमेरिकी केन्द्रीय सरकारको एजेन्सी नेसनल हाईवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन  (एन एच टि एस ए) ले बिगत १० बर्षदेखि गाडीमा यस्तै प्रकृतीको प्रबिधी जडानको लागि काम गर्दै आएको छ । यसको लागि एजेन्सीले ५ करोड अमेरिकी डलर खर्च गरिसकेको छ ।  मेरिल्यान्ड  र भर्जिनियाका केही क्षेत्रमा यो प्रबिधि प्रयोग समेत गरी सकिएको बताईएको छ । मदिरा सेवन गरेको चालक गाडी भित्र सिटमा बसेपछि चालकले स्टेरिङ् समाते पछि वा गाडी स्टार्ट गर्न साँचो घुसाए पछि वा चालकले फेरेको श्वास वा चालकको आँखाको चाल थाहा पाउने सेन्सर गाडीमा जडान गरिने छ । यदि चालकले कानूनी ब्यबस्था भन्दा बढी प्रतिसतमा मदिरा पिएको सेन्सरले देखाएमा गाडी स्टार्ट हुने छैन । यो ब्यबस्था गाडी दुर्घटनाको समयमा निस्किने एयर ब्याग जस्तै सुरक्षाका लागि हुने छ । भोल्भो गाडीको स्विडिस निर्माण कम्पनीले सन् २०२० को शुरुदेखि नै गाडीमा चालकले पिएको मदिराको मात्रा देखाउने क्यामेरा र सेन्सर राखेर गाडी निर्माण गरिने बताई सकेको छ ।  

अमेरिकामा वार्षिक करिब १० हजार मानिसको ज्यान गाडी चलाउँदा अत्याधिक मदिरा सेबन गरेका कारण हुने गरेको छ ।                      

लामो समयदेखि मदर्स अगेन्स्ट ड्रंक ड्राईभिङ (एम ए डि डि) नामक संस्थाले अत्याधिक मदिरा सेवन गरेको चालकलाई गाडी चलाउन नदिने प्रबिधि गाडी भित्रै जडान गर्नु पर्ने माग गर्दै आएको थियो ।  

श्रोत : रेउटर्स