समाचार

महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश भन्दा अघि उनको सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

बयानमा महराले आफूमाथिको अभियोग अस्वीकार गरेको बताइएको छ । पीडित भनी सार्वजनिक भएकी महिलासँग पारिवारिक सम्बन्ध रहेपनि उक्त दिन भने आफू नगएको र जाँदै नगएपछि बलत्कारको प्रयास हुने कुरै नभएको उनको दावि रहेको छ ।

पीडित भनिएकी महिलाबाटै आफूमाथि बलात्कार प्रयास नभएको भनी वयान आइसकेको अवस्थामा आफूले थप स्पष्टिकरण दिनु नपर्ने उनको बयान छ । त्यसो त आरोप लगाउने महिलाले पनि प्रहरीले करकापमा आफूलाई उजुरी दिन लगाएको भन्दै महराबाट आफूमाथि बलत्कारको प्रयास नभएको बताएकी छिन् ।

महरामाथि संसद सचिवालयमा कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले एक अनलाइनमा भिडियो अन्तर्वार्ता दिँदै उक्त आरोप लगाएकी थिइन् ।

तर, उक्त वयान फेर्दै उनले महरा आफ्नो बुबाजस्तो भएकाले कुनै बलत्कारको प्रयास नभएको उल्टो आफ्नो मानसिक अवस्थाको फाइदा उठाउँदै यस्तो आरोपबारे बोल्न लगाइएको उनको भनाई थियो । अदालतमा समेत उनले सोही प्रकृतिको बयान दिएकी छिन् । महरा १९ असोजमा पक्राउ परेका हुन् ।