बिचार

नमस्कार विरोधि अभियानमा यहाँलाई स्वागत छ

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

नेपालीहरु माझ प्रचलनमा रहेको नमस्कार साक्षात्कारको पहिलो पर्याय बनेको छ । नमस्कार एक प्रवृत्ति हो । यस भित्र बर्ग र स्तर लुकेको हुन्छ । अझ बढी त्यो चाप्लुसी हो । थाहा छैन, नमस्कारको जन्म कहाँ भयो, प्रचलनमा कसरी आयो ? र यस्को अन्त्य कहाँ छ ? यो नमस्कार इतिहासदेखि थियो र छ । सालिकले गरेका शताब्दीपूर्वका नमस्कारहरुले यो कुरा सावित गर्दछ । यो नमस्कार मेरो पिताले ठूलाबडालाई गर्नुभयो । पिताको संस्कारलाई गुरुमन्त्र बनाएर मैले पनि यो नमस्कार ठूलाबडालाई गर्दै आएको छु । तर, भित्र भित्र म यो नमस्कार संस्कारको घोर विरोधि । मलाई लाग्छ, नमस्कार गर्ने र गराउने दुबैलाई अपराध मानेर हदैसम्मको सजाय दिनुपर्दछ । देश बिगारेकै नमस्कारले हो । न्युटनको सिद्धान्त पनि फेल खान्छ यस्को अगाडि, किनभने प्रत्येक क्रियाको प्रतिक्रियालाई मात खुवाएर क्रिया मात्र छ, नमस्कारमा । सानाले ठूलालाई नमस्कार गर्छ भने ठूलाले कहिल्यै पनि सानालाई नमस्कार गर्दैन । काम गर्ने अफिसमा बोसले तपाईको नमस्कारलाई नमस्कार दियो कि दिएन त्यस्को मात्र बेरुजु निकाल्नुस, आफै पत्ता लाग्छ । फेरी नमस्कार त्यो पेन्टर पनि हो, जस्ले हाकिमको अनुहारमा सम्मानको रंग पेन्टिङ गरी तपाईलाई बढुवाको प्रमाणपत्र भिराइदिन्छ । ठूलो ठूलो पदको सिफारिस नमस्कारबाटै शुरु हुन्छ । अझ ‘नमस्कार हजुर’ भनेर भन्ने हो भने चाप्लुसीको संसारमा हाइड्रोजन बम भन्दा बढी प्रभावशाली हुन्छ ।

अमेरिका त्यसै विकास भएको होइन । त्यहाँ यस्तो चाप्लुसी संस्कार छैन । धेरै समानता छ त्यहाँ । नमस्कारको विकल्पमा, ‘हैन्डसेक’ भन्दै हात मिलाउँछन् । त्यो हात हल्लाई उर्फ हैन्डसेकले हातदेखि दिलसम्मको मिलन गराई, करोडपति र रोडपतिको वीचको ग्रेटवाललाई सेकेण्डमै गर्ल्याम्मै ढलाइदिन्छ । हातदेखि दिलसम्म जोडिने त्यो पाश्चात्य संस्कार आयात गरी सकरात्मक, शभ्य र शिष्ट ब्यापार घाटा खानु कता कता, आफ्नै ‘अर्गानिक नमस्ते’मा आत्मनिर्भर बनेर भेदको पर्खाल चुलाइरहेका छौं – हामी । त्यहाँ सम्वोधनमा सवैको सवैप्रति ‘यु’ प्रयोग गर्दछ । हाम्रो देशमा जस्तो टुक्राटाक्री सम्वोधनहरु ‘तँ, तिमी, तपाई र हजुर’ त भन्दै भन्दैन त्यता । देश त्यसै विकास भएको होइन । हरेक काममा आत्मसम्मान त्यसै भएको होइन । त्यहाँको संस्कार, भाषा, मर्यादा र हरेक कुरामा समानता छ । उनीहरु कहाँबाट कहाँ पुगे हामी भने आफ्नै दुई हात जोडेर आफ्नै प्रगतिको बाटो छेकिरहेका छौँ । नमस्कार गर्नेहरुको प्रगति नगर्नेहरुको दुर्गति, गर्नेको बढुवा, नगर्नेको घटुवा वा सरुवा भएको देख्दा नमस्कार त प्रगतिको अनिवार्य शर्त जस्तो पनि लाग्छ । तर मलाई थाहा छ, हाम्रो देश बिगारेकै यो दुई हाते नमस्कारले हो । अझ भन्नुपर्दा धनुषाकार नमस्तेले हो । अध्यादेशै लादेर, अव कसैले कसैलाई नमस्कार गर्न पाउँदैन भनेर परमादेश जारी गर्नु पर्दछ वा अव कसैले कसैलाई नमस्कार गर्दा नमस्कार नै प्रत्युतरमा पाउँदैन भने ‘नमस्कारको मानहानी’ भनी सर्वोच्चमा मुद्दा दायर गर्नपाउने भनी फरमान होस् ।

मलाई लाग्छ, यो नमस्कारमा के छ ? मान हत्केलामा होइन, हृदयमा हुन्छ । नमस्कार गरेर शीर झुकाउँदैमा श्रद्धाले झुकाएको हो भनी कसरी भन्न सक्छौँ ? बाहिर नमस्कार भित्र धिकार गरेको भए, त्यो नमस्कार र तुच्छ शब्दले प्रहारमा के नै फरक भो र ? बिडम्वना, हाम्रो देशमा नमस्कार यस्तो संस्कार, जो प्रगतिको आधार नगर्नेहरुको लागि अपकार । बाहिर बाहिर स्पष्ट मान, भित्र भित्र प्रशष्ट बेइमान । नमस्कार गर्ने हत्केला र मुटुको सम्वन्धको सुक्ष्म परीक्षण गर्ने हो भने एक प्रतिशत नमस्कार मात्र हृदयबाट प्रारम्भ भएको होला । अरु नमस्कार त सवै भक्तपुरको दतात्रेयमा भुपतिन्द्र मल्लले ठोकेको नमस्कार बरावर मात्र हो । श्रदा कम, परम्परा धेरै !

साना हुँदा हरेक अभिभावकले संतानलाई यो पाठ सिकाए कि आफू भन्दा ठूलालाई नमस्कार गर्नु पर्दछ । पछि हुर्किदै जाँदा सवैले त्यो संस्कारलाई धन र शक्तिसँग गुन्यो । ठूला त ठूला, धनले ठूलालाई नमस्कार गर्ने परम्पराको सुरुवात भयो । नमस्कार जव ब्यक्तित्व भन्दा ब्यक्तिको लागि झुक्न थाल्यो अनि बिक्न थाल्यो बजारमा कौडीमा नमस्कारहरु । त्यो बेलादेखि, सुकिलो कोटमा झुल्न थाल्यो नमस्कार, हरियो नोटमा फुल्न थाल्यो नमस्कार । 

यो नमस्कारविरोधी आन्दोलन अव शुरु हुन्छ । तपाईले पनि मलाई साथ दिन सक्नु हुन्छ । प्रारम्भ गरौँ, मात्र धनले समाजमा अग्लिएका, महँगो कोटले टल्किएका, ओठमा पान सय पचपन्न सल्किएका, चिल्लो कारमा पल्किएका कथित धनीहरुलाई नमस्कार नगरी । नमस्कार बाहिर हेर्दा कामधेनु गाई हो तर भित्रभित्र यो भिरुङ्गगी रोग जस्तै निकै संक्रात्मक छ । म आफनो आउँदो पुस्तालाई सम्मान औँलाले गर्न होइन, हृदयले नमन गर्न सिकाउँछु । यो परम्परागत नमस्कारको खारेजी वा परिमार्जनसहितको नमस्कारको आन्दोलनमा यहाँलाई पनि स्वागत छ ।