फिचर

अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । सडक विभाग मातहत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले यो आयोजना बनाउदैछ ।

आयोजना निर्माणको जिम्मा भने जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार काम भने आगामी डिसेम्बरबाट शुरु हुने छ ।

तर, पूर्वतयारीको काम भने अब शुरु हुने भएको छ । यो कम्पनी विपि राजमार्ग निर्माण गर्ने सफल कम्पनी हो । यो सुरुङमार्गको डिजाइन समेत जापान सरकारका तर्फबाट भएको हो ।

४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको लाग करबाहेक साढे १३ अर्ब रुपैयाँ हो । यस आयोजनासँगै करीव साढे दुई किलोमिटर लामो पहुँचमार्गसमेत निर्माण हुने भएको छ ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्ने भएका छन् । गुर्जुधारामा ६१० मिटर लामो फ्लाइओभर बन्ने भएको छ ।

आकस्मिक उद्धारका लागि एक लेनको सहायक सुरुङसमेत बनाउने तयारी छ । दुर्घटनाको समयमा सहायक सुरुङबाट गई उद्धार गर्न सकिन्छ । सुरुङमार्गमा टनेल बोरिङ मेसिन प्रयोग नभइ बिष्फोटक पदार्थ प्रयोग गरि निर्माण हुने भएको छ ।