समाचार

आङ सान सू ची नेपाल आउने

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन् ।

लगत्तै सरकारले भ्रमणको तयारी थालेको उनले जानकारी दिए । राष्ट्रपतिसँगै गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार स्वदेश फर्किएका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको पर्यटन प्रवद्र्धनकै लागि सू ची नेपाल आउने बताए । राष्ट्रपति भने म्यानमारबाटै जापान भ्रमणमा व्यस्त छिन् ।