23-Nov-2019 | ७ मंसिर २०७६, शनिबार

शोणितपुर (थानकोट) को ऐतिहासिक न्यायालय : झ्यालम्पाटी

५ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


भीमनारायण श्रेष्ठ / काठमाडौं

 काठमाडौं उपत्यकाको चार भञ्ज्याङ्गमध्येको एक रहेको चन्द्रागिरिको काखमा अवस्थित उत्तराभीमुख लम्पसार फैलिएकोे प्राचीनकालमा सुप्रभानगरीबाट शोणितपुर नामाकरण भएको रमणीय गाउँ हो थानकोट । ऐतिहासिक शोणितपुरको नामबाट हालसम्म परिचित हुँदै प्रसिद्धि पाएको यस गाउँको मध्यमागमा अवस्थित झ्यालम्पाटीको बारेमा प्रस्तुत गर्नुभन्दा अगाडि शोणितपुरकोे विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सामाजिक, भौगोलिक तथा राजनैतिक अवस्था झल्काउनु उपयुक्त हुने देखिएको छ ।

प्राचीनकालीन सुप्रभानगरीका तत्कालीन दैत्यराज वाणासुर अति वीर पराक्रमी हुनुकासाथै शिवभक्त भएकाले भगवान पशुपतिनाथको आराधनाबाट वरदान पाई आफ्नो राज्य स्वर्णमय (सुनैसनको) बनाएका थिए । उनको घमण्डको अगाडि कसैको केही लाग्दैनथ्यो । त्यसैले उनले आफ्नी अति सुन्दरी छोरी राजकुमारी उषालाई जलक्रीडाका लागि तत्कालीन नेपाल खाल्डोलाई जलमग्न (ताल) बनाई दिए । राजकुमारी उषाले एकदिन सपनामा देखिएकी युवक मनपराएकीले उनैसँग बिहे गर्ने अठोट गरिन् र उक्त कुरा आफ्ना बाबु वाणासुरलाई सुनाईन् । तर सपनामा देखिएका ती युवक को हुन्, कहाँका हुन् केही अत्तापत्तो थिएन । तापनि वाणासुरले आफ्नी प्यारी छोरीको लागि अप्सरा चित्रलेखा (राजकुमारी उषाकी १०० जना सुसारेहरु मध्येकी अति मन मिल्ने शयन कक्ष समेतमा रहने सुन्दरी) लाई बोलाई राजकुमारी उषाले हुलिया बताए अनुसारको चित्रलेखाले चित्र कोर्दा ती युवकको अनुहार द्वारिका नगरीका अनिरुद्र (भगवान श्रीकृष्णका नाति) सँग ठ्याक्क मिलेकोले रातारात चित्रलेखालाई समेत पठाई अनिरुद्रलाई लिन पठाए । राती सुतिरहेका अनिरुद्रलाई खाट समेत उठाई अपहरण गरी ल्याएर शोणितपुरमा लुकाएर राखे । त्यो कुरा भगवान श्रीकृष्णले थाहा पाएर वाणासुरसँग लडी उनको धमण्ड चकनाचूर पारी दिए । अनि राजकुमारी उषाको बिहे अनिरुद्रसित गरी दिए । त्यसको केही समयपछि श्रीकृष्ण र अनिरुद्रकोसाथ राजकुमारी उषा द्वारिकानगरीमा नै फर्किए । अनिरुद्र र राजकुमारी उषा शोणितपुरमा रहुञ्जेल स्नान गर्ने खोला, खाना पकाउन पानी ल्याउने खोला र अशुद्ध (महिनावारी हुँदाको) कपडा धुने र नुहाउने खोला समेत अलग अलग रहेको छ । त्यसैले आजसम्म पनि शोणितपुर (थानकोट) मा अनिरुद्र (ज्वाईं अर्थात् नेपालभाषामा भाजु) ले स्नान गर्ने ठाउँ अर्थात् खोला ‘भाख्र्वाःसी’ (भाजु ख्वाःसिली) यद्यपी गाउँको माझबाट बगेको छ । शोणितपुरको पश्चिमतर्फ ‘आलःखुसी’ (आल्खु खोाला) को पानी आलः (नेपालभाषामा उच्चकोटीको परिष्कृत बोलीचाली भाषाबाट भातलाई आलः भन्दछन्) अर्थात भात (खाना) पकाउन प्रयोग गरिने भएकाले खोलाको नाउँ नै आलःखुसी राखिएका छ । हिजोआज यस खोलालाई आल्खु भन्ने गरेको छ । त्यस्तै गाउँको पूर्वतर्फको ‘मःखु’ मभिं’ खुसी अर्थात ‘मन्खु’ खोला बगेको छ । त्यस खोलालाई ‘हिज्याखुसी’ (खोला) पनि भन्ने गर्दछन् । त्यस खोलामा राजकुमारी उषा मासिक धर्म अनुसार अलग्ग हुने बेलामा नुहाउने र कपडा धुने गरिने भएकाले मभिं हिज्या खुसी नामाकरण भएको मानिन्छ । यी खोलाहरूहालसम्म पनि सोही नामले चिनिन्छन् । साथै श्रीकृष्णको साथमा आएका गोपाल अर्थात ग्वालाहरू श्रीकृष्णका साथसाथै द्वारिका फर्किए तापनि केही ग्वालाहरू यहीँ रमाएर बसे । तिनै ग्वाला अर्थात गोपालहरू यद्यपी गोपाली जातिको अस्तित्व कायम गर्दै बसेका छन् ।

लिच्छवीकालमा शोणितपुरलाई ‘थेन्चोग्राम’ भनी ‘शिताटी’ (चन्द्रागिरि र दहचोक डाँडोको बीचको भूभाग) अन्तर्गतको गुल्मको रुपमा राखिए तापनि प्रशासनिक दृष्टिकोणले महत्वपूर्ण हुँदै गएपछि ‘तल’ र ‘द्रङ्ग’को रूपमा क्रमशः विकसित गराउँदै लगिएको छ । वसन्तदेवको पालामा शोणितपुर (थेन्चोग्राम) लाई ‘शीताटी’ गुल्मको रूपमा राखिए तापनि गणदेवको पालामा आएर ‘शीताटीका’ ‘तल’को रूपमा प्रसिद्ध भयो । त्यसपछि ‘शीताटिका’ ‘द्रङ्ग’को नाम रहेको देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दुष्टिकोणले महत्वपूर्ण स्थानहरू विकसित हुँदै गएपछि ग्राम, तल, द्रङ्ग गरी क्रमशः महत्वकासाथ बढोत्तरी गरी लैजाने गर्दथे । यी तीनै इकाईहरुमा सुरक्षाको दृष्टिकोणले गुल्म रहन सक्ने व्यवस्थासमेत गरेको पाइन्छ । त्यसैले लिच्छवी राजा वसन्तदेवदेखि शिवदेव (द्वितीय) को समयसम्ममा ‘शीताटी’ प्रशासनको दृष्टिले महत्वपूर्ण स्थान बन्दै गए । यसैले ‘शिताटी’ अन्तर्गतको शोणितपुर अर्थात् थेन्चोग्राम प्रशासनिक दृष्टिकोणबाट महत्वपूर्ण स्थान बन्दै गएको पाइन्छ । यहाँ स्थित आदिनारायण मन्दिर परिसरमा रहेको लिच्छवी राजा वसन्तदेवको सम्वत् ४२८ को (१५९२ वर्ष अघिको) शिलालेख, च्वछेँ फल्चा अगाडिको गणदेवको आजभन्दा झण्डै १४ सयबर्ष अगाडिको शिलालेख र त्यस्तै नासः फल्चा अगाडिको भीमार्जुनदेव+जिष्णुगुप्तको सम्वत् ५७ को शिलालेखहरुबाट समेत तत्कालीन थेन्चोग्रामको अवस्था र ऐतिहासिक महत्व झल्काउँछ । त्यसैले यहाँ लिच्छवीकालीन प्रमुख प्रशासनिक निकायहरूको अलिकति उल्लेख गर्न वान्छनीय नै देखिन्छ । लिच्छवीकालमा प्रशासनिक दृष्टिले महत्वपूर्ण निकाय ‘कुथेर’, ‘सूली’, ‘लिङ्वल’ र ‘माप्चोक’ गरी प्रमुख चारवटा मानिन्थ्यो । सोहीमध्ये ‘कुथेर’ र ‘सूली’ अड्डाले स्थानीयस्तरमा राजस्व उठाउने र भूमि सम्बन्धी काम गर्ने भएकाले आर्थिक प्रशासनको अड्डा÷अदालत भन्ने गर्दथे । त्यस्तै ‘लिङ्वल’ कुलो, धारा, पानी र यातायातकोसाथै वाणिज्यसम्बन्धी काम गर्ने अड्डा हो भने ‘माप्चोक’ सम्पत्ती सम्बन्धी नियन्त्रण गर्ने तथा विवाह सम्बन्धी नियम लागू गर्ने अड्डामा पर्दछ ।

लिच्छवीकालमा यहाँको प्रशासनिक तथा दशैं पूजाको साथै अन्य पर्वपूजा सञ्चालनको दृष्टिकोणले अति महत्वपूर्ण मानिएको ठाउँ ‘क्वाथ’ (कोतघर) यद्यपी यथास्थानमा रहेको छ । त्यस्तै अर्को नगर सुरक्षार्थ सुरक्षाकर्मी बस्ने र सामरिक दृष्टिकोणबाट महत्वपूर्ण ठाउँ ‘क्वाख्यर्ः’ (कोटृ÷किल्ला) रहेको छ । साथै तत्कालीन स्थानीय शासकहरू मार्फत न्याय निशाफ एवम् सार्वजनिक सुनुवाईको काम कारवाही गर्नकोलागि महत्वपूर्ण मानिएको ऐतिहासिक ठाउँ ‘झ्यालँफः’ अर्थात् झ्यालम्पाटी पनि यथास्थानमा नै मौजूदा छन् । लिच्छवीकालमा यसै ‘झ्यालम्पाटी’मा आई राजस्व उठाउने, सामाजिक एवम् अन्य न्याय निशाफ गर्ने र सार्वजनिक सुनुवाई तथा सूचना प्रवाह गर्ने गर्थे । लिच्छवीकाल पछि मल्लकाल र शाहीकालमा पनि यसै ‘झ्यालम्पाटी’मा आई कर सङ्कलन गर्ने, सामाजिक न्याय निशाफ गर्ने तथा सार्वजनिक सुनुवाईको साथै सार्वजनिक सूचना प्रवाह समेत गर्ने थलोको रुपमा विकसित हुँदै गए । यसैले हालसम्म ‘झ्यालम्पाटी’को ऐतिहासिक महत्व बढ्दै गइरहेको छ ।

नेपालको राजनीतिक भौगोलिक क्षेत्र विभाजन अनुसार काठमाडौं जिल्लाको ‘थानकोट’ (तत्कालीन गाउँ विकास समिति) को सीमित घेरा भित्रको यो रमणीय ऐतिहासिक ‘शोणितपुर’ नगरको रुपमा कैद गरिएको छ । तापनि यसको भौगोलिक क्षेत्रफल ७.९६ वर्ग किमी छ । 

थानकोट गा.वि.स.अन्तर्गतको वडा नं. ४ हाल चन्द्रागिरि नगरपालिका वडा नं. ४ अन्तर्गत ‘झ्यालँफः’ अर्थात ‘झ्यालम्पाटी’ अवस्थित छ । यो पाटी कहिले बनेको थियो भन्ने बारेमा हालसम्म यकिन हुन सकेको छैन । किनभने यस सम्बन्धी कुनैपनि शिलालेख भेटिएकोे छैन । तापनि लिच्छवीकालमा ‘थेन्चोग्राम’ अर्थात ‘शोणितपुर’ प्रशासनिक तथा सैन्य विशेषबाट सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । तत्कालीन शासकहरूबाट न्यायिक कार्य सम्पादन गर्न, प्राकृतिक नियमको न्याय सिद्धान्त अनुरूप राज्य सञ्चालन तथा सामाजिक व्यवस्था सञ्चालन तथा न्याय प्रतिपादन गर्ने थलोको रूपमा ‘झ्यालम्पाटी’ लिएको छ । तत्कालीन स्थानीय शासकहरूबाट कर असूली, सामाजिक न्याय निशाफ तथा सार्वजनिक सुनुवाईका लागि एउटा अड्डा अदालत सम्बन्धि कामकाजमा सहजता अपनाउन ‘शोणितपुर’ नगरको मध्यभागमा यो झ्यालम्पाटी निर्माण गरेकोे हुनुपर्छ । जे होस् यो पाटी हालसम्म पनि यथास्थानमा नै उभिएको छ ।

यो झ्यालम्पाटीको बनावट हेर्दा सामान्य देखिए तापनि यसको निर्माण फरक ढङ्गले गरेको देखिन्छ । कुनैपनि घर वा भित्ताको आड नलिइकन चारैतर्फ बाटोको बीचमा ‘झ्यालम्पाटी’ उभ्याइएको छ । यस पाटीको जगदेखिमाथिको सतहमा काठको खम्बाहरू ठड्याउन ठूलाठूला चारपाटे आकारमा कुँडिएका काला ढुङ्गाहरू ठड्याइएका छन् । त्यसमाथि चारैतर्फ जोडिने गरी काठका ठूला सत्तरहरू (टाईबीमको रुपमा) ओछ्याइएको छ । त्यसमाथि कलात्मक बुटृाले भरिको ठूला खम्बाहरू ठड्याइएका छन् । यसरी उभ्याइएको यो पाटीको दक्षिण मोहडा पारिएको छ । अगाडि पटिृको भागमा समानान्तर तीन कवल र पूर्व तथा पश्चिममा पनि एक एक कवल राखी बनाएको छ । उत्तर पटिृको बीच भागको गारोमा कलात्मक बुटृा कुँडिएको खम्बा राखी झ्याल राखेको छ । यसै झ्यालले गर्दा यस पाटीको सौन्दर्य बढ्नुकोसाथै ऐतिहासिक महत्व बढेको छ । यसै झ्यालले गर्दा नै यो पाटीको नाम ‘झ्यालम्पाटी’ रहन गएको छ । झ्यालको साथै सबै कवलहरु खड्गाकार देखिने गरी खम्बाहरुमाथि काठकै ‘निना’ (काठको बीम) राखेर बनाएको छ । झ्यालको साथै सबै कवलहरुमा देखिने खड्गाकारले गर्दा यो पाटी तान्त्रिक आधारले समेत निर्माण गरेको हुनुपर्छ भन्ने आभाष मिल्दछ । टायल प्रयोग गरी दुई पाखाको छाना राखी बनाएको यो पाटीमा काठको फल्याकहरू ओछ्याइएको छ । हालसम्म यसको सामान्य मर्मत कार्य समय समयमा हुने गरेको छ । यो पाटी हाल जीर्णोद्वारको पर्खाईमा सकी नसकी उभेको छ । यो पाटीको तल्लो तह अर्थात जमिनको सतहदेखि माथिको भाग कालकोठरीको रूपमा रहेको छ । यो कोठा भित्र मान्छे उभिन नमिल्ने गरी निहुरिएर मात्र जान र बस्न सक्ने गरी बनाएको छ । यो कोठा भित्र पस्नको लागि उत्तरतर्फ एउटा सानो झ्याल एकमान्छेसम्म छिर्न सक्ने गरी राखेको छ । यो ठाउँ (कोठा) प्रयोग विहिन देखिए तापनि यसको विशेष महत्व छ भन्ने जानकारहरू बताउँछन् ।

यो झ्यालम्पाटीको पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ बाटोहरू फैलिएको छ । यसको करीव समान दूरीमा पूर्वतर्फ नासः फल्चा (नासल पाटी), पश्चिमतर्फ सिकःछेँ फल्चा (पाटी) उत्तरतर्फ चाफः फल्चा (चाफल पाटी) र दक्षिणतफ च्वछेँ फल्चा (पाटी) रहेको छ । यो पाटीको अगाडि (दक्षिण पटि) लस्करै तीनवटा कलात्मक ढुङ्गे धारा (लाछीहिटी नामले चिनिन्छ ) छन् । त्यही धारा परिसरमा हिटी गणेद्यः (गणेश देवता) छन् । धाराको माथिपटिृ महादेवको वाहन सहितको दुईवटा शिवलिङ्ग स्थापना गरेकोे छ । शिवलिङ्गको पूर्व तर्फ (झ्यालम्पाटीको अगााडि) सोह्रखुटृे पाटी अवस्थित छ । झ्यालम्पाटीको बायाँ तर्फको पूर्वी दक्षिण कोण तर्फ प्राचीन ऐतिहासिक भगवान् आदिनारायणको मन्दिर र लण्ठ टोलमा कल्पेश्वर महादेवस्थानको साथै क्षेत्रपाल स्थान समेत रहेको छ भने दायाँतर्फको दक्षिण पश्चिम कोण तर्फ ऐतिहासिक भगवान बद्रिनाथको मन्दिर अवस्थित छ । साथै उत्तर पश्चिम कोण तर्फको परिसरमा लिच्छवीकालीन प्रशासनिक तथा दशैंपूजा सञ्चालन गर्ने भवन ‘क्वाथ’ (कोतघर) छ । त्यस्तै पूर्वी दक्षिण कोण तर्फको अलि अग्लो भूभागको परिसरमा तत्कालीन सैन्य किल्ला एवम् सामरिक दृष्टिकोणले महत्वपूर्ण ठाउँ ‘क्वाख्र्यः’ (कोटृ किल्ला) रहेको छ । यो ऐतिहासिक क्वाख्र्यः हालको नापनक्सामा व्यक्तिगत नाममा दर्ता कायम समेत भैसकेको छ । झ्यालम्पाटीको चारैतर्फ जाने मुख्य चारवटा बाटोहरूको साथै सोही बाटोहरूसँग जोडिएका अन्य सानाठूला गरी ४ वटा बाटोहरू छ । ती बाटोहरू विभिन्न टोल (ठाउँ) हरुमा जाने मुख्य बाटो अन्तर्गत पर्छ । यसको साथै चारैतर्फका पाटीहरू, लाछिहिटी, सोह्रखुटृे पाटी, शिवलिङ्ग र कल्पेश्वर महादेव समेत समेटिने गरी परिक्रमा गर्ने सक्ने बाटो समेत छ । यिनै महत्वपूर्ण चारकिल्ला भित्र थानकोटको मध्यमागमा यो ऐतिहासिक न्यायालय ‘झ्यालम्पाटी’ रहेको छ । राजनैतिक परिवर्तनको साथसाथै ऐतिहासिक झ्यालम्पाटी पञ्चालयत व्यवस्थाको उदय संगसंगै तत्कालीन गाउँ पञ्चायतकोे नाउँ समेत झ्यालम्पाटी गाउँ पञ्चायत नामकरण भएको थियो । परिवर्तनशील समय काल अनुसार यसको केही समयावधी पछि गाउँ पञ्चायतको नाउँ थानकोट रहन गएको थियो । परिवर्तित राजनैतिक शासन व्यवस्था अनुसार साविक थानकोट गाउँ विकास समिति नाउँ हुँदै हाल चन्द्रागिरि नगरपालिकाको वडा नं. ३ र ४ मा थानकोट विभाजित भयो । सोही अनुसार वडा नं. ४ अन्तर्गत पर्दछ झ्यालम्पाटी । प्रसङ्ग झ्यालम्पाटीको रहे तापनि यसको भौगोलिक अवस्थितिको बारेमा चर्चा भयो । शोणितपुरमा ऐतिहासिक न्यायालयको रूपमा प्रसिद्धि पाएको झ्यालम्पाटी तत्कालीन अवस्थामा राजस्व उठाउने थलोको साथै सामाजिक न्याय निशाफ एवम् सार्वजनिक सूचना प्रवाह गर्नेदेखि सार्वजनिक सुनुवाई समेत हुने अदालत प्रकृतिको रहेको पाइन्छ । किनभने यसै पाटीमा बसेर कोही कसैलाई अन्याय परेको छ भने तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु मार्फत पिडकबाट पिडित पक्षलाई न्याय दिलाउने काम कारवाही हुने गर्छ । तत्कालीन स्थानीय प्रशासक द्वाःरे तथा भद्रभलादमीहरु समक्ष पिडित पक्षले आफूलाई परेको अन्यायको विरुद्धमा किटानी उजूरी गरेमा त्यस्तो उजूरी माथि पिडक पक्षलाई झिकाई उनले जानी नजानी गरेको काम वा आरोप प्रत्यारोपबाट पिडित पक्षलाई साँच्चै अन्याय वा पिर मर्का पर्न गएको रहेछ भने पिडित पक्षलाई न्याय दिलाउने काम यही झ्यालम्पाटीमा बसेर गर्ने गरिन्छ । नैतिक तथा सामाजिक अपराध विरुद्धको उजूरी माथि समेत निशाफ दिलाउने गर्छ । त्यस्ता किसिमका अपराध गर्ने व्यक्ति वा जोसुकैलाई गाउँ निकाला समेत गर्न सक्ने सामाजिक न्याय निशाफ गर्दथे । नैतिक पतन हुने सामाजिक अपराधको उजूरीमा सत्यतामा पुग्न अपराधीलाई धर्मभाकल गराउने प्रचलन थियो । उजूरी सुन्ने प्रशासक द्वारे तथा भद्रभलादमीहरूलाई सत्यता माथि चित्तबुझ्दो जवाफ नआएमा भगवान आदिनारायण तथा बद्रीनाथको मन्दिर दायाँ बायाँ रहेकाले “मैले असत्य बोल्न परेमा बोलेमा यिनै भगवानबाट नाश हुन परोस्” भनी भगवानको कसम खुवाउने गर्दथ्यो । त्यसपछि अगाडिपटिृ रहेको लाछिहिटीको पानी छुवाई “मैले सत्य नबोलेको भए छोराछोरीको हातबाट पानी खान नपरोस” भनी कसम खुवाउँथे । अझ झ्यालम्पाटीको चारैदिशामा रहेको पाटीहरुलाई देखाई “मैले असत्य बोलेको अपराध गरेको भए म र मेरो सातपुस्ताले समेत पाटीमा बास समेत नपाओस्” भनी धर्मभाकल गराउने चलन थियो ।

यसबाहेक कोही कसैले कुनै व्यक्ति परिवार समूहलाई झूठो आरोप लगाउन खोजेमा पनि “झ्यालम्पाटीमा चारजनाको अगाडि उभिन सक्ने मात्र बोल् ।” “झ्यालम्पाटीमा उभिएर बोल्न सक्छस् ?” “झ्यालम्पाटीमा गएर झ्याली पिटाए पनि केही लछार्दैन ।” “झ्यालम्पाटीमा कागज टाँसे पनि केही गर्न सक्दैन ।” जस्ता प्रतिकारात्मक भाषाहरु प्रयोग गर्ने गर्थे । त्यस्तै “फलाना… को झगडा झ्यालम्पाटीमा जात्रा” “झ्यालम्पाटीमा कुरा भएको… हिजो त्यस्तो भयो अरे ।” “आज यस्तो भैरहेको छ अरे ।” “भोली फलानो… ढिस्कानो… हुँदै छ अरे ।” भन्ने जस्ता सूचना प्रवाहका सम्वादहरू हुने गर्दथे । अझ सार्वजनिक रूपमा केही कामकारवाही गर्न परेमा पनि “नाय्खिँ च्वय्किगु माहाँ च्वय्केगु” अर्थात् झ्याली पिटाउने कटुवालद्वारा सार्वजनिक सूचना प्रवाह गर्ने जस्ता कार्य पनि यही झ्यालम्पाटीबाट शुरू गर्ने गर्दथे । झ्यालम्पाटीमा भेला भएर छलफल भएको विषयवस्तु व्यक्ति वा परिवार विशेषमा मात्र सीमित रहँदैन । त्यसैले झ्यालम्पाटीमा भएको कुराकानी व्यक्तिगत होस् वा पारिवारिक गोप्य हुन कठिन छ । हालसम्म पनि साविक वडा कार्यालयबाट कुनै सार्वजनिक सूचना प्रकाशन गर्दा यही झ्यालम्पाटीमा समेत सूचना टाँस गर्ने प्रचलन यद्यपि चली आएको छ । शोणितपुर (थानकोट) अवलोकन गर्न आउने अतिथिहरुको लागि एकछिन भएपछि सवैतिर आँखा दुलाउने अवलोकन केन्द्र बनेको छ । नवआगन्तुक अतिथिहरूको लागि पदचिन्ह स्वरूप गन्तव्यमा पुग्न केन्द्रविन्दु बन्न पुगेको छ झ्यालम्पाटी । यसैकारण शोणितपुरको ऐतिहासिक न्यायालयको रुपमा आफ्नो अस्तित्व कायम राख्दै उभिएको छ जीर्ण अवस्थाको झ्यालम्पाटी । बाहिरी रुपरङ्ग टल्किए तापनि भित्रभित्र जीर्ण बनेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार