बिचार

समय - मापन

​​प्रा. डा. कुलप्रसाद कोइराला​​

समय अविभाज्य र अखण्ड पनि छ । समयलाई काल, बेला, घडी पनि भनिन्छ । यस प्रकारका समयलाई पनि हाम्रा पौरस्त्याचार्यले तिथि, वार, नक्षत्र, योग र करणसमेत पाँच प्रकारमा विभाजन गरेका छन् । कुनैले भने कुनैले चाहिं वर्तमान, भूत र भविष्यत् गरी मूलतः त्रिधा विभाजन गरेको पनि देखिन्छ । यिनै कालका पनि पक्षहरू छन् । प्रत्येकका कम्तिमा पनि तिन त भए नै भूतका प्रथम दुई अनि तिनका पनि चार गर्दा कति भए ? यस प्रकारको विभाजन पनि सबै व्याकरणमा एक नासका तवरले गरिएको छैन । यो विभाजन भनेको हाम्रो (मानवमात्रको) काम गर्ने क्षमताका आधारमा निर्धारण गरिएको हो । मान्छे सबैसँग एक समानको कार्य क्षमता छैन । यस पृथ्वीका छातीमा रहेका २९५ वटा राज्यमा बस्ने सबैले काम चलाउनका निमित्त समयको व्यवस्था मिलाएका हुन्छन् ।
यो समय सबै देशमा झुल्कने सूर्यलाई नै केन्द्रविन्दुमा राखेर मिलाईएको देखिन्छ । हाम्रा गते वार एक प्रकारले चल्ने, तिथि र नक्षत्र अर्को प्रकारले चल्ने भनेर हामीले व्यवस्था मिलाएका छौं । चन्द्रमाको र सूर्यको गति समान छैन । मलमास, अधिक मास, क्षयमास जस्ता कुरा चन्द्रसँग सम्बद्ध हुन्छन् चन्द्रमा भनेको मृत ग्रह हो । त्यसको आफ्नै प्रकाश छैन, त्यसैले चन्द्र देखिने ठाउँमा सबैतिर चन्द्रग्रहण देखिन्छ भने सूर्य ग्रहण चाहिं कतै देखिने कतै नदेखिने हुन्छ । हिजोको ज्ञान समय–क्रममा संशोध्य साबित भयो भने हिच्किचाउने किन ? विज्ञानले बनाएको यन्त्र (घडी) पनि त देशैपिच्छेका समयमा मिलाउनुपर्छ । पात्रो पनि एक प्रकारको घडीकै काम गर्ने वस्तु हो । यसलाई पनि देशदेशका समय अनुसारको न बनाए या नगरे काम गर्न अप्ठ्यारो पर्दछ । सिद्धान्त ज्योतिषले समस्या खडा गर्दैन । अलिअलि समस्या ल्याउने फलित ज्योतिषले होला भन्छु । नेपालमा राजा महेन्द्रले एक देश, एक भेष, एक नेता, एक संस्कार–संस्कृति, एक व्यक्ति–एकैव्यक्तित्वको नीति चलाएका थिए । अहिले पन्चा¨मा पनि त्यही बखेडा हामी निकाल्न लाग्यौं भने हामी जहाँ पुगेर जे काम गर्ने, गर्न–गराउन सक्ने भए पनि “पुच्छ शुनो नैव जहाति वक्रताम्” बन्यौ कि बनेनौ ? नेपालमा भएकै हुनुपर्ने भए अमेरिका किन बनो पनि त भनिएला ? एकछिन् अझै बरालिऔं आर्य भट्ट ती पहिला व्यक्ति हुन् जसले अचला, स्थिरा भनिएको पृथ्वीलाई सबै भन्दा पहिले पृथ्वी चला, गतिमतिश्च भनेर दुनिया“लाई छक्याएका थिए । उता तिमीहरूले जति नै भने पनि म मान्दिन अर्थ ईज ग्लोब राउण्ड भनेर भन्दा ग्यलिलियो मारिएका थिए । जसरी देवी देउरालीका कुरा बेकारका हुन् भन्दा दार्शनिक शुकरातले “ह्यामलक” नामको विष सत्यका खातिर प्युनु परेको तियो । एकलव्यले पनि त बुढी औंलो गुरुदक्षिणामा चढाएका थिए शैक्षिक स्वतन्त्रताका निमित्त । न हतारई नआत्तिई अभियानमा लागे एक दिन सफल भइन्छ ।

​तपाईका पत्रमा पन्च¨कै बाहिरपट्टि यो यो देशका लागि भन्ने कुरो लेख्ने गर्नु पर्छ भन्ने सल्लाह देखिन्छ । के रस्सिया, अमेरिका, भारत आदिले बनाएका घडी अथवा उपभोग्य सामग्री कुनै निश्चित देशमा मात्र चल्ने या लाउन पाइने हुन्छ र ? पन्चा¨ बनाउने सीप भएकाले यसलाई उद्योगका रूपमा चलाउन किन नपाउने ? तपाईले भनेको जस्तो गर्ने हो भने ठ्याक्कै राजा महेन्द्रको नीति शास्त्रमा पनि कायम हुँदैन र ? ऊ त राजा थियो, आफ्ना राज्यमा लायो, हामीले कहाँ लाउने ? कस्ले मान्ने ? ज्ञानविज्ञानका कुरामा प्रभुसम्मत सम्मति त्यति राम्रो मानिदैन । अल्बर्ट आईन्स्टाईनले प्रतिपादन गरेका सापेक्षतावादमाथि पनि विद्वान् वैज्ञानिकले अनेक पक्ष विपक्षका सम्बन्धमा बताई सकेका छन् । तिनले अल्बर्टलाई निषेध गरेका छन् र ? हाम्रो देश नेपालमा पखाला लाग्दा पानी खान नदिने चलन थियो । आजको औषधिविज्ञानले शरीरबाट पानीको मात्रा जतिजति जान्छ त्यतित्यति नै मदौरुलाई पानी खान दिनुपर्छ भनो । त्यो कुरो मान्दा हामीलाई फाईदा भएन र ? हिजो बुहारीले जेठाजुलाई नांगो टाउको देखाए भने मरेपछि कपाल जल्दैन भन्थे । लोकले नै त्यसलाई हटाइ दिएको पनि त देखियो । यस कुरालाई परिहार गर्न कुनै विद्वानले अभियान चलाएको त देखिएन । हिजोका दिनका कुरा धेरै फेरिएका छन् । नेपालकै तराईमा पातलो लुगा लाउनु वातावरणीय दृष्टिले राम्रो छ । आज पनि महेन्द्रकै पालामा झैं टोपी खोई ? भन्ने सूचना पाटी राख्न मिल्ला ? के भन्ला दुनियाँले ? किन ल्याएको प्रजातन्त्र ? हिजो नेपाली नेपाल र भारतमा सीमित थियो आवश्यकता थिएन, कुरो चलेन । आज नेपाली उल्लेख्य सङ्ख्यामा अमेरिका लगायत धेरै देशमा बसोबास गर्न,आवश्यक्ता बोध भयो, कुरा उठे, समाधान पनि हुन्छ । वादेवादे जायते तत्व बोध । आज विरुद्धमा उभिने पनि भोली समर्थनमा आउन विवश बन्छन् ।

​ज्ञानका क्षेत्रमा आलोचना टीकाटिप्पणी आह्वान् गरिन्छ, निषेध गरिंदैन । विद्वानहरु आफ्ना कुरा टिप्पणी र समीक्षाका निमित्त गोष्ठीको आयोजना गर्छन् । एकै पिताका चारभाई पुत्रका घरमा पनि भिन्नता देखापर्न सक्छ । सानातिना भिन्नता त पिता र पुत्रमा नै देखिन थाल्दछ । हाम्रा पुर्खा त्यति अज्ञानी थिएनन् र त भनें “मुन्डेमुन्डे मतिर्भिन्ना,कुन्डेकुन्डे नवं पयः” । देशभेदेन धर्मा अपि भेद्यन्ते भन्ने कुरामा पनि ध्यान पुर्याउनैपर्छ । शास्त्रले “यद्यपि सिद्धं नाचरणीयं लोकबिरुद्धम्” पनि त भनेको छ । कुनै नयाँ काम गर्न लाग्दा अनेक बाधा व्यवधान आउनु पनि स्वाभाविक हो, त्यसले दृष्टि खारिन्छ, कामको सफलताका लागि दृष्टि परिपक्व बन्नु अति नै जरुरी हुन्छ । त्यसो भएकाले आगामी गोष्ठीमा यस विषयमा व्यापक छलफल गरौं गोष्ठीमा सहभागी विद्वत समुहले जे निर्णय गर्छ त्यसैलाई प्रस्थानविन्दु मानेर अगाडि लागौंला । किमधिकम् ? इत्यलम् । शुभास्ते पन्थान सन्तु ।​