फिचर

आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो ।

नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा कम्पनीले चीनमा उडान बिस्तार गर्न सकेका छैनन् ।

नेपाल एयरलाइन्सले अहिले ग्वानझाओका लागि प्रयास गरिरहेको छ । हिमालय एयरलाइन्सले यो एक ऐतिहासिक उडान हुने बताएको छ ।

नेपालबाट उडान हुन नसकेपनि चीनबाट भने ५ वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन । तर, ती कुनै पनि कम्पनीले बेइजिङ उडान गर्दैनन् ।

हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–बेइजिङ साढे ५ घण्टा समयको हुनेछ । यस रुटमा एयर बस ३२० जहाज उडाउने तयारी रहेको छ ।

नेपालको काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको जहाज चीनको नयाँ तथा अत्याधुनिक विमानस्थल डाक्सिङमा अवतरण गर्नेछ ।

यो हिमालय एयरलाइन्सका लागि अर्को ठूलो उपलब्धी हो । किनकी यो एयरपोर्टमा संसारभरका वायुसेवा कम्पनीको पहिलो रोजाईको उडान हो ।