विज्ञान प्रविधि

प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए ।

तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए ।

एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र प्रमुख सल्लाहकार विष्णु रिमाल एक्सन सहभागी थिए ।

त्यसक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानी जमरा र सिक्टा सिंचाइ आयोजना, हुलाकी र मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे जानकारी लिइएको थियो ।

ती आयोजनाको कार्यप्रगतिबारे चासो राख्दै प्रधानमन्त्रीले कार्यप्रगति बढाउन निर्देशन दिएका थिए ।

राष्ट्रिय गौरवका आयोजनाले साच्चै गौरव गर्न लायक प्रगति गर्नुपर्ने भन्दै उनले आयोजना प्रमुखहरुलाई कार्य प्रगति बढाउन निर्देशन दिए ।

राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयमै बसेर हेर्न तथा अपडेट लिन सकिने गरी आयोजनास्थल सम्मै सीसी क्यामरा जडान गरी एक्सन रुम संचालनमा ल्याइएको छ ।