समाचार

राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् ।

उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।

प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीसहितको टोली सहभागी छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाकुमा पुथिसकेका छन् । प्रधानमन्त्री आइतबार स्वदेश फर्कने भएका छन् । उता, म्यानमार र जापान भ्रमण सकेर राष्ट्रपति विद्यादेवि भण्डारी स्वदेश फर्किएकी छिन् । उनी जापानबाट चीन हुँदै नेपाल आएकी हुन् ।