समाचार

वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

काठमाडौं

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो ।

सिडिसी बेलायत सरकारको पूर्ण स्वामित्वको संस्था हो । वर्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी दुवै पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक भित्रिएको कार्यक्रममा बताइयो । ग्रामिण भेगसम्म इन्टरनेट सेवा बिस्तार गर्न यो साझेदारी महत्वपूर्ण सावित हुने वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले बताए ।