विश्व

जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस

काठमाडौं । व्यवस्थापिका संसद, संसदीय उपसमितिले जर्मनी, बोनस्थित नेपाली राजदूतावास भवन बेच्न सरकारलाई सिफारिस गरेको छ ।

सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिबाट जर्मनीको बोनस्थित दूतावासको भवन प्रयोगविहीन रहेको भन्दै तत्काल बेच्नु पर्ने सुझाव दिएको छ ।

उपसमितिका संयोजक राजेन्द्र कुमार केसीका अनुसार त्यहाँ रहेका दुई वटा भवन प्रयोग विहिन रहेका छन् ।

जर्मनीको राजधानी बोनबाट बर्लिनमा सरेपछि बोनस्थित दूतावास भवन प्रयोगबिहिन भएको हो । बर्लिनमा भने नेपालले घर भाडामा लिएर दूतावास चलाइरहेको छ ।

बोनको दूतावास बेचेर बर्लिनमा नयाँ भवन बनाउन सकिने सुझाव समेत दिइएको छ । उपसमितिले बेलायतस्थित नेपाली दूतावास भवन भने बिक्रि गर्न नहुने बताएको छ ।

बेलायतमा महारानी एलिजावेथको दरबारसँगै रहेका कारण पनि नेपाली दूतावासको भवनको ठूलो महत्व रहेको छ ।

उपसमितिको टोलीले साउदी अरेबिया, फ्रान्स, जर्मनी र बेलायती दूतावासको स्थलगत अध्ययन गरेको छ ।

उक्त टोली २६ असारमा नेपालबाट हिडेको थियो । २ साउनमा स्वदेश फर्किएको थियो । टोलीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उपसमिति संयोजक केसी, सांसद चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सहभागी भएका थिए ।