समाचार

‘भिजिट नेपाल २०२०’ प्रभावकारी बनाउन अन्तरक्रिया

न्युयोर्क/अमेरिका

आगामी वर्ष ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले दोलखा श्यामा शेर्पा समाज अमेरिकाले पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि नेपाल सरकारले बिदेशी पर्यटकलाई आर्कषित गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
अन्तरराष्ट्रिय माउन्टेनियरिङ गाईड तथा इन्स्ट्रक्टर पासाङ् शेर्पाले नेपाल भ्रमण बर्ष २०२० (भिजिट नेपाल २०२०) लाई अझ प्रभावकारी बनाउन र पर्यटनक्षेत्रको बिकास र बिस्तार गर्नका लागि नेपाल सरकारले अन्तराष्ट्रिय अल्प्पाईन गाईड एशोसियनसँग मिलेर प्रसारप्रचार तिब्र बनाउनुपर्ने सुझाव दिएका छन् । साथै नेपालमा पर्यटकलाई लगाउने शुल्कमा एकद्वार प्रणाली लागु गर्नु पर्नेमा जोड दिए ।
नेपाल अमेरिकन क्लाइम्बर्स एशोसियनका अध्यक्ष पासाङङिमा शेर्पाले हिमाल आरोहणमा जोखिम मोलेर काम गर्ने शेर्पाहरुलाई बुढेसकालमा कुनै सुबिधा नभएको गुनासो गरे । जसले गर्दा शेर्पाहरु बिस्तारै पेशाबाट पलायन हुन थालेको बताए । एनआरएनका पर्यटन संयोजक तथा शेर्पा किदुगका पुर्व महासचिब आङजाङ्बु शेर्पाले सडक बिस्तार र बिकासको नाममा ट्रेकिङ पदयात्राको रुटहरु नस्ट पार्न नहुने बताउँदै बाह्य पर्यटक भित्र्याउनका लागि कतिपय पुरानो शैली परिवर्तन गरी गुगल, ट्विटर, फेसबुक आदिमा बिज्ञापन गर्नुपर्ने बताए । ‘बिदेशी पर्यटक तान्नका लागि नेपालको सडक, बाटो एयरपोर्टको सुधार तथा फोहोर ब्यबस्थापन हुनु पनि उत्तिकै जरुरी छ’ उनले भने ।
सहभागीहरुले धार्मिक पर्यटक बढाउन लुम्बिनी क्षेत्र तथा धार्मिक स्थलहरुको संरक्षण गर्नुपर्ने बताएका थिए । बिगतमा लुम्बिनी क्षेत्रमा बुद्धका मूर्तिहरु तोडफोड भएको बिषयमा अहिलेसम्म सरकारबाट कुनै किसिमको सुनुवाई र कारबाही नभएको गुनासो गरेका थिए । पर्यटन क्षेत्रमा दुःख, संघर्ष गरेका अनुभवीलाई अवसर दिनुपर्ने, पर्यटन क्षेत्रको झन्झटिलो शैली हटाउनु पर्ने, नेपाल भ्रमण बर्षबारे बिश्वभर प्रसारप्रचार गर्नुपर्ने लगायत सहभागीहरुको सुझाव थियो ।
शेर्पा संघ अमेरिकाको कार्यबाहक अध्यक्ष ल्हाक्पा देन्डी शेर्पाले नेपालमा पर्यटन ठुलो सम्भावना र श्रोत भएपनि सरकारले पुर्वधारहरुको खासै बिकास गर्न नसकेको बताए । न्यूयोर्कस्थित नेपाली महाबाणीज्यदूत पुष्पराज भट्टराईले सरकारले यो गरेन त्यो गरेन भनेर गाली गर्नु भन्दा कसरी राम्रो गर्न सकिन्छ भन्नेबारे सुझाव र सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पर्यटन सदभावना दूत तथा मिसेस नेपाल टुरिज्म छिरिङ्गडोल्मा शेर्पालाई सम्मान गरिएको थियो । छिरिङ्गडोल्माले नेपाल सरकारले आफुलाई सुम्पेको जिम्मेवारी ईमादारिता पुर्वक पुरा गर्ने बताएकी थिइन् ।