विश्व

अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

न्युयोर्क

अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट  बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा फरक फरक ब्यवस्थाहरु छन् । त्यस मध्येका अधिकांश देशहरुले सम्बन्धित देशको विमानस्थलमा पुगेपछि भिसा लिने ब्यबस्था गरेका छन् । यस्तो ब्यवस्था भएका देशहरुको भ्रमणमा जाँदा हवाई टिकट भएपुग्छ । तर सम्बन्धित देशको बिमानस्थलमा भिसा लिँदा भिसा फि भने तिर्नै पर्छ ।  

अर्को समुहका देशहरुले भने भिसा बिमानस्थलमा पनि दिंदैनन् । ति देशको भ्रमणमा जानुभन्दा पहिले नै भिसा लिएर जानु पर्छ । नत्र अलपत्र पारिएला ! तर यो समुहका देशहरुले अमेरिकी राहदानी  बाहकका लागि ई – भिसाको ब्यबस्था गरेका छन् । सम्बन्धित देशको सरकारी वेबसाईटमा गएर तोकिएको रकम तिरेर आफ्नो ब्यक्तिगत जानकारी भरेपछि कन्फर्मेसन प्राप्त हुन्छ । त्यही पर्चीलाई प्रिन्ट निकालेर राहदानीको साथमा बोकेर हिड्दा हुन्छ ।  

यि दुई समुहका देश बाहेक अर्को समुह पनि छन् । त्यो समुहका देशहरुले अमेरिकी नागरिकलाई न बिमानस्थलमा भिसा दिन्छन् न ई – भिसा नै दिन्छन् । यी देशहरुको भ्रमणका लागि भिसा पहिला नै लिनु पर्दछ ।  त्यस्ता देशहरुको  भिसा लिन केही कागजी झन्झट हुन सक्छ । केही बढी समय लाग्न पनि सक्दछ । स्मरण रहोस्; अमेरिकाको पासपोर्ट छ भन्दैमा त्यतिकै हवाई टिकट किनेर एयरपोर्ट नदौडनुस् । अमेरिकी पासपोर्ट सबै देशको लागि “गोल्डेन टिकट” होईन । यी देशहरुको भ्रमण गर्न पहिले नै भिसा लिनु पर्दछ ।  

१) म्यानमार :

म्यानमारले पर्यटकका लागि टुरिस्ट भिसा र टुरिस्ट भिसा एक्स्प्रेस दिने गरेको छ । ई – भिसा $५० मा प्राप्त हुन्छ त्यस्को लागि ३ देखि ४ दिन लाग्दछ । तर ई -भिसा एक्स्प्रेसको लागि $५६ लाग्छ तर २४ घण्टा  भित्र भिसा प्राप्त हुन्छ । भिसा जसरी लिए पनि म्यानमार  भ्रमणमा जाँदा पहिले नै भिसा लिएर जानै पर्छ ।

२) भियतनाम :

भियतनाम जानका लागि ३ किसिमले भिसा लिन सकिन्छ । पहिलो तरिका हो वेबसाईटबाट अप्लाई गरेर प्राप्त गर्ने, अर्को अमेरिकास्थित भियतनामी दुताबासमा गएर भिसा लिने, र अर्को तरिका हो कुनै ट्राभल एजेन्सीमा गएर “लेटर अफ अप्रुभल” लिने ।  अनि त्यही ट्राभल एजेन्सीले दिएको लेटर अफ अप्रुभलको आधारमा भियतनामको बिमानस्थलमा अबतरण भएपछि अराईभल भिसा लिने । तर याद राख्नुस् “लेटर अफ अप्रुभल” भएन भने अराईभल भिसा प्राप्त गर्ने ब्यबस्था छैन । भियतनामको लागि ३० दिने भिसाको मुल्य $२५ पर्दछ ।  

३ ) ब्राजिल :

केही समय अगाडिसम्म ब्राजिल घुम्न जानु पर्‍यो भने अमेरिकी नागरिकलाई निकै लामो प्रकृया पुरा गरेर ब्राजिलको दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दथ्यो तर अहिले ब्राजिलले नियम परिवर्तन गरेर ई -भिसाको ब्यबस्था गरेको छ । ब्राजिलले अमेरिका, क्यानाडा अष्ट्रेलिया र जापानको लागि ई – भिसाको ब्यबस्था गरेको हो । ई – भिसाको लागि शुल्क बुझाएको १० दिन भित्र ईमेलबाट ई- भिसा आउँदछ र प्रिन्ट निकालेर पासपोर्टसंगै बोकेर जानु पर्दछ ।  ब्राजिलको ९० दिनको भिजिट भिसाको लागि ४४ डलर २४ सेन्ट शुल्क लाग्दछ ।  

४ ) भारत :

अमेरिकी नागरिकले भारत भ्रमणमा जानको लागि वेब साईटबाट अनलाईन भिसा आबेदन दिन सक्छन् । यद्यपी थुप्रै ब्यापारी कम्पनीले भिसा लगाएर ल्याउने काम पनि गर्दछन् । तर ती कम्पनीले अतिरिक्त शुल्क लिने गर्दछन् । तर पनि सरकारको आधिकारिक वेब साईटबाट आँफैले आबेदन दिएर भिसा लिँदा पैसाको बचत र भरपर्दो पनि हुने गर्दछ । भारतको भिसा लिन आबेदन दिंदा पासपोर्ट ६ महिना म्याद हुनु पर्दछ भने पासपोर्टमा २ पेज खाली हुनै पर्द्छ । अमेरिकी नागरिकलाई ६० दिनको भिसाको $१०२ पर्दछ । भिसा प्राप्त गरेको १२० दिनसम्म भिसा प्रयोग भएन भने स्वत: रद्ध हुन्छ ।  

५ ) भुटान :

भुटानको भिसा लिन त्यति सजिलो छैन । भुटानको भिसाको लागि सबैभन्दा पहिला टुर गाईड लिनु पर्दछ । गाईडसँग समन्वय गरेर कति दिन घुम्ने कता कता घुम्ने बताए पछि गाईडले आईटिनरी तयार गर्दछ । आईटिनरीको आधारमा मुल्य र भ्रमणको पुरा खर्च तयार हुन्छ । त्यो तय भएको भ्रमण अबधिको मुल्य बुझाएपछि गाईडले भिसा अप्लाई गरिदिन्छ । एक हप्ता भित्र ईमेलबाट भिसा आउंछ । त्यही भिसा लिएर पासपोर्टको साथमा भुटान जानु पर्दछ ।  

६ ) रसिया :

रसियाको लागि ई-भिसाको ब्यबस्था छैन । अमेरिकी नागरिकले रसिया भ्रमण गर्नु पूर्व नै रसियन दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दछ । तर थाहा पाउनै पर्ने कुरा के हो भने; रसियाको भिसा लिनको लागि स्पोनसरको पत्र अनिबार्य छ ।  यद्यपी यस्ता स्पोन्सर भने भ्रमणको क्रममा बस्ने होटल भ्रमण तालिका बनाउने ट्राभल एजेन्ट वा रसियामा बस्ने नातेदार वा साथी जो पनि हुन सक्छ्न ।  

७ ) चिन : 

चिन भ्रमणको लागि ई-भिसाको ब्यबस्था छैन । चिनको दुताबास वा कन्सुलेटमा सशरीर उपस्थित भएर भिसा आबेदन दिनु पर्दछ ।  सामान्यतया सिङल ईन्ट्री भिसाको लागि १४० डलर शुल्क लाग्दछ । आबेदन दिएको ४ दिनमा भिसा प्राप्त हुन्छ भने एक्स्प्रेस गर्ने हो भने २ देखि ३ दिनको समय लाग्दछ ।  

यि माथिका ७ वटा  देश बाहेक तल उल्लेख गरिएका अन्य देशहरुको भ्रमणमा जाँदा पनि पहिला नै भिसा लिनु पर्दछ । यि उल्लेख गरिएका देशहरुको पनि बिमानस्थलमा अराईभल भिसा दिने ब्यबस्था नभएको हुँदा भ्रमण पूर्व भिसा लिनु पर्दछ ।  

– अफगानिस्तान, अंगोला, अजरबैजान, अल्जेरिया, चाड, क्युबा, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, ईरिट्रिया, गाम्बिया, घाना, गिनी, ईरान, ईराक, लाईबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, नाईजर, नाईजेरिया, पाकिस्तान, अष्ट्रेलिया ।

उपरोक्त सावधानि अपनाउनु भयो भने अनावश्यक झण्झटबाट बच्नुहुनेछ ।