स्वास्थ्य

किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो ।

तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ ।

तर, समाचार स्रोतहरुका अनुसार प्रधानमन्त्रीको मृगौलाको डायलासिस गरिएको छ, सोहीकारण उनको अस्पताल बसाई लम्बिने क्रममा छ ।

यसअघि प्रधानमन्त्री स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहँदा समेत सरकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनतालाई जानकारी दिइराख्नु पर्छ भन्ने आवश्यकता ठानेन।

अहिले पनि सकभर प्रधानमन्त्रीलाई के भइरहेको छ र किन अस्पतालमा राख्नु परेको हो भन्ने यथार्थ लुकाइएको छ । प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण हो ।

सिंगापुरबाट फर्किएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर उपचार गराएका थिए ।

त्यसपछि पनि उनी ग्राण्डी अस्पतालमा एक पटक उपचारमा पुगिसकेका थिए ।

मृगौला प्रत्यारोपण गरेको लामो समय भइसकेको अवस्थामा प्रधानमन्त्रीको स्वास्थ अवस्थाबारे सर्वसाधारणको जिज्ञासा वेवास्था गर्नुले सरकारको नियतमाथि भने प्रश्न उठ्ने गर्छ । किनकी कार्यकारी पदमा आसिन व्यक्तिको स्वास्थले समग्र सरकारको गतिमै असर पुग्न जान्छ ।