समाचार

कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ ।

घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ ।

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर स्थानीय दुई पक्षबीच विवाद भएको थियो । स्थानीय प्रशासनले बुधबार रातीबाटै कर्फ्यू आदेश जारी गरेको थियो।

त्यसपछि पनि दुई सम्प्रदायबीचको हिंसा कम नभएपछि झडपको स्थिति सिर्जना भएको हो । हिन्दु र मुस्लिम समुदायबीचमा विवाद उत्पन्न भएको हो ।

मृतक पाण्डेले ठेलामा चिया पसल चलाएर गुजारा चलाउँदै आएका थिए । हिन्दु समुदायले लक्ष्मीपूजामा स्थापना गरेको मुर्ति विसर्जन गर्न लैजाने रुटको विषयमा मुश्लिम समुदायसँग विवाद भएको प्रहरीले जनाएको छ ।

तराईका कतिपय स्थानमा बडादशैं र तिहारको लागि हिन्दु समुदायले स्थापना गरेका दुर्गा र लक्ष्मीका मुर्ति स्थानीय नदी तथा तलाउमा विसर्जन गर्ने प्रचलन रहेको छ । सोही क्रममा फरक फरक समूदायबीचमा विवाद हुने गरेको छ ।

यस स्थानमा गत वर्ष पनि यस्तै विवादमा प्रहरीले लाठिचार्ज गरी घटनालाई साम्य पारेको थियो । यस वर्ष भने प्रहरीले गोली नै चलाउनु परेको हो ।

यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले घटनाप्रति चासो राख्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा संयमित हुन सरकारलाई आग्रह गरेको छ ।