बिचार

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको दिन जन्मिए पनि जीवनभर धनको चरम अभाव झेल्दै सरस्वती माताका पुत्रको रmपमा प्रख्यात भए । १० वर्षकै उमेरमा कविता लेख्न प्रारम्भ गरेका देवकोटाले शाकुन्तल, सुलोचना, प्रमिथस, महाराणाप्रताप, वनकुसुम, पृथ्वीराज चौहान जस्ता महाकाव्य तथा मुनामदन, लूनी लगायत दर्जनौं खण्डकाव्य, थुप्रै निबन्ध तथा कविताका रचनाकार देवकोटा गौतम बुद्धपछिका नेपालका प्रबुद्ध हस्ताक्षर हुन् भनेर समीक्षकहरुले चर्चा गरेका छन् । मेरा सबै कृति जलाए पनि हुन्छ मुनामदको रक्षा गर्नू भन्ने अभिव्यत्ति दिने देवकोटाको कलम बिजुली जस्तै चम्कियो, प्रकाश देशविदेश पुग्यो ।

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

भन्ने उद्गार गर्ने देवकोटाले प्रकृति चित्रण, बौद्धिक विन्यास, भावनात्मक शैली, आत्मपरक अनुभूतिका विशेषताका साथ कवितायात्रामा संलग्न हुँदै महाकाव्य, खण्डकाव्य तथा फुटकर कविताको गुणात्मक तथा परिमाणात्मक सघनता अद्वितीय बनाएको पाइन्छ । पूर्वीय तथा पाश्चात्य संस्कृतिसँग परिचित देवकोटाले आफ्ना रचनामा सांस्कृतिक पुनर्जागरण र अन्धविश्वासप्रतिको विद्रोह गरेका छन् । सहज र स्वतस्फूर्त भाषावेगमा स्वच्छन्दता, हार्दिकता, कल्याणकारिता, हृदयस्पर्शिता, सत्यता र सौन्दर्य जस्ता तत्व कवितामा समावेश गर्ने देवकोटा यान्त्रिक सिर्जनाको विपक्षमा उभिएका छन् ।

वि. सं. १९९१ मा देवकोटाले प्रारम्भ गरेको स्वच्छन्दतावादी धारामा सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, माधव घिमिरे आदि कविहरूले कलम चलाएका छन् । कोमल हार्दिकता, कल्पनाको प्रचूरता, प्रकृतितर्फ उन्मुख, मानवप्रेम, देशप्रेम र विश्वप्रेम आदि विशेषताले स्वच्छन्दतावाद मौलाएको पाइन्छ ।

पागल कविता कहाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता हो ।

जरुर साथी ! म पागल !

यस्तै छ मेरो हाल !

म शब्दलाई देखदछु, दृश्यलाई सुन्दछु, बास्नालाई स्वाद लिन्छु

आकाशभन्दा पातला कुरालाई छुन्छु…..

ती कुरा जसको अस्तित्व लोक मान्दैन,

जसको आकार संसार जान्दैन ।

यसरी समाजका अन्यपक्षको कमजोरीलाई व्यड्ड्ग्य गरिएको छ । यसरी हेर्दा व्यञ्जनायुक्त ढङ्गमा शीर्षकले नै कविताको समग्र अर्थ बोक्न सकेको छ । यस कवितामा अन्य समाजको अवस्था र कवि दृष्टिको चर्चा गरिएको छ । तत्सम र आगन्तुक शब्दको प्रयोगले कतैकतै दुरुह जस्तो देखिए पनि भावलाई श्रृङखलावद्ध हुनबाट रोकेका छैनन् । ढुङ्गालाई पनि फूल देख्दै र पहाडलाई पनि बाचाल सम्झिने कवि मूर्खले ठिंगुरा हालेको र राँची पठाएकोप्रति असहमत छन् । अन्याय र अत्याचार सहन नहुने कुरा व्यक्त गर्दै शक्तिशालीले कमजोरलाई दबाएको कत्ति पनि मन पराउँदैनन् । यसरी विप्रौडोक्ति शैलीमा तयार भएको कविता देवकोटाको सशक्त रचना भन्दा अत्युक्ति नहोला । देवकोटाको अर्को साँढे कवितामा पनि हाँसो मिश्रित व्यङ्ग्यमा साँढेलाई प्रतिनिधि पात्रका रुपमा उतारी सामन्ती र हैकमवादी मिचाहा प्रवृत्तिको भण्डाफोर गरिएको छ । कविताको केन्द्रीय भाव बहन गर्न शीर्षक सक्षम देखिन्छ । यस कवितामा श्रृङ्खलाबद्ध भावानुभूति पस्किएको पाइन्छ । स्वच्छन्दतावादी काव्यधारामा कलम चलाउँदै कवि प्रौढोक्ति शैलीमा विशिष्ट भाषाशैलीका साथ प्रस्तुत यस कवितामा व्यञ्जनाको सशक्त प्रयोग गरिएको छ । समाजको मिचाहा र हेपाहा प्रवृत्तिलाई साँढेको स्वभावसँग तुलना गरी कवितालाई सबल तुल्याइएको छ । यसैगरी मानिस विराट् शीर्षकको कवितामा मानिसको प्रवृत्ति विराट् र वृहत् रहेको सन्दर्भ उठाइएको छ । मानिसको अहं प्रवृत्तिलाई आत्मसात गर्न सफल भएकाले कविताको शीर्षक कविको विचार बहन गर्न सक्षम देखिन्छ । यस कवितामा देशको गौरवगान पनि गरिएको छ । स्वच्छन्दतावादी धारामा शसक्त भाषाशैलीमा व्यञ्जना तत्वको प्रयोग गर्दै रचिएको यस कविताले मानिसको अहमताको सोचलाई चित्रण गरेको छ । त्यस्तै सन्ध्या पनि देवकोटाको प्रभावकारी कविता हो । सन्ध्यालाई प्रतीक बनाएर नारीपात्रको वर्णन र नारीलाई सन्ध्यासँग तुलना गरिएको यस कविताको शीर्षक पनि प्रतीकात्मक रहेको छ । आदि, मध्य र अन्त्यको श्रृङ्खलामा भावनात्मक उद्वेग मौलाएको यस कवितामा सन्ध्यालाई प्यार गर्ने युवक अमर र कीर्तिशाली हुने कुरा उल्लेख गरिएको छ । व्यञ्जना र दृष्टान्तको प्रयोग गरिएको यस कवितामा सशक्त एवं मौलिक भाषाशैलीको प्रयोग भएको छ ।

परिष्कारवादपछि नेपाली कवितामा स्वच्छन्दतावादको प्रयोग प्रारम्भ भएको हो । स्वच्छन्दतावाद पाश्चात्य साहित्यको रोमान्टिसिजमबाट नेपालीमा भित्रिएको वाद हो । यस वादलाई नेपाली कवितामा भिœयाउने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा नै यो वाद विकसित भएको हो । परिष्कारवाद र स्वच्छन्दतावादका बीच स्पष्ट भिन्नता देख्न सकिन्छ । यथार्थमा स्वच्छन्दतावादी कविहरूले स्वतस्फुर्त अनुभूतिको आत्मपरक अभिव्यक्तिलाई अङ्गीकार गरी नयाँ धाराको निर्माण गरेको प्रतीत हुन्छ । देवकोटा जस्ता कविहरू सहज हृदयबाट प्रस्फुटित हुने भावुक अभिव्यक्ति र प्राकृतिक विषयवस्तुमा बढी जोड दिन्छन् । विराट् प्रकृतिको भण्डारमा आकर्षित भएर यिनीहरू काव्य सिर्जना गर्दछन् । परिष्कारवादी कवितामा आवेगलाई विवेकले नियन्त्रण गरिन्छ भने स्वच्छन्दतावादी कवितामा अतीतको गौरव, कृत्रिम र सहरी सभ्यताको खिल्ली उडाउँदै प्राकृतिक सभ्यताकै पक्षमा अभिव्यक्ति दिइएको हुन्छ । यसरी साहित्यको भन्डार भर्न देवकोटाको अतुलनीय योगदान रहेको छ । नेपाली साहित्यमा कलम चलाउने कसैले पनि देवकोटालाई भुल्न सक्दैनन् । नेपाली साहित्यको उत्थान गर्न सकेमात्र नेपाली साहित्यका उज्वल नक्षत्र देवकोटाप्रति सच्चा सम्मान र सम्झना हुनेछ ।