विश्व

आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे ।

तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको सार्वजनिक गरेको छ ।

अब इस्लामिक स्टेटलाई अबु इब्राहिम अल हाशमीले नेतृत्व गर्ने भएका छन् । २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा बगदादी विरुद्ध अपरेशन चलाएको थियो ।

अन्तिम १५ मिनेटको सफल सैन्य अपरेशनमा उनी मारिएका थिए । अमेरिकी सेनाका कुकुरले लखेटेपछि बगदादीले आत्मघाती बम विस्फोट गराएर आफैलाई उडाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका थिए ।

इस्लामिक स्टेटले अडियो सन्देश मार्फत उक्त पुष्टी गरेको हो । यस कारवाहीका दौरान प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि संगठनले गरेको छ ।

अबु हम्जा अल कुरैशीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको संगठनले उल्लेख गरेको छ । यस संगठनले नयाँ नेताको तस्वीर सार्वजनिक गरिएको छैन । उनी परिचित नाम समेत नभएकाले यस संगठनले अझ बढी आक्रामक रणनीति लिन सक्ने आंशका पश्चिमी मुलुकहरुको रहेको छ ।

एजेन्सी