फिचर

माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ ।

स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ ।

उर्जा मन्त्रालयका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा लगानी सम्बन्धी द्धिपक्षीय सम्झौता हुँदैछ । ४५ करोड ३२ लाख डलर विदेशी लगानी जुटेसँगै सम्झौता हुने भएको हो ।

यस आयोजनाबाट उत्पादन भएको विजुली आन्तरिक प्रयोजनमा खपत हुने आयोजनाको दावि छ । यस आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने भएको छ ।

कोरियाली निर्यात आयात (एक्जिमं)बैंकको १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गर्ने गरी लगानीको टुंगो लागेको हो ।

यसका साथै एसियाली विकास बैंक (एडीबी)को ६० मिलियन डलर, कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले समेत लगानी गर्ने गरी सम्झौता हुन लागेको मन्त्रालयले उल्लेख गरेको छ ।

आयोजनाको कुल लागत भने ६४ करोड ७४ लाख डलर अर्थात् ७० अर्ब रुपैयाँ हाराहारी हो । यसमध्ये १९ अर्ब संस्थापक सेयर र बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले जनाएको छ ।

ऊर्जा मन्त्रालय र कम्पनीबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।