अर्थतन्त्र

मुग्लिन-पोखरा सडक चार लेन बन्ने पक्का

काठमाडौं । अब पोखरा यात्रा सहज र रोमान्चक बन्ने भएको छ । सरकारले विगत ४ वर्षदेखि योजना बनाइरहेको मुग्लिन पोखरा सडक खण्ड बिस्तारका लागि एसियाली विकास बैंकले ऋण स्वीकृत गरेसँगै यो आयोजनाले गति लिने निश्चित भएको हो ।

एसियाली विकास ब‌ैंकले करीव २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको जानकारी गराएको छ । उक्त सडक खण्ड फराकिलो बनाउन र मर्मतमा यो रकम खर्च हुने बैंकले उल्लेख गरेको छ ।

यसबाहेक सरकारले करीव ६ अर्ब रुपैयाँ आफ्नो लगानीसमेत यहाँ गर्ने भएको छ । यो आयोजनाको काम सन् २०२५ सम्म सम्पन्न हुने भएको छ ।

पोखरादेखि आबुखैरेनीसम्म ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गर्ने गरी आयोजनाले गति लिने भएको हो । एसियाली विकास बैंकको सहयोगले ८१ र बाँकि सडक सरकारले आफ्नो लगानीमा बिस्तार गर्ने भएको हो ।

पोखरा काठमाडौं सडक सबैभन्दा व्यस्त सडक मध्ये एक हो । किनकी दुई पर्यटकीय शहर भएका कारण यो सडकलाई नेपालको रणनीतिक सडक खण्डका रुपमा समेत हेर्ने गरिन्छ ।

यो सडक अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण हुनेछ । सडकमा सुरक्षाका सबै उपाय अपनाइने छ । चेतावनी लाइट सिस्टम जडान हुनेछ ।

सहरी इलाकामा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बन्ने समेत बैंकले उल्लेख गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । यसले भैरहवा र लुम्बिनी तथा चितवनलाई समेत सजिलै जोड्न सहयोगी बन्ने भएको छ ।