समाचार

अदालतमा महराको बयान, आरोप अस्वीकार

काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ ।

बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् ।

उनको विवाहमा समेत आफूले अविभावकत्व निभाएको उल्लेख गर्दै उनले त्यसपछि भने पछिल्लो तीन वर्षयता मात्र उनीसँग भेट भएको उल्लेख गरेका छन् ।

आफू अस्वस्थ रहेको भन्दै संसद संसद सचिवालयमा काजमा जागिर मिलाइदिन आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै त्यसपछि भने दुई परिवारका बीचमा पटक पटक भेटघाट हुने गरेको बताएका छन् ।

घटना भएको दिन रोशनी आफ्नो अफिसमा आई समयोजनको बारेमा मिलाउन आग्रह गर्दै आक्रोसित हुँदै बाहिरिएको उनले उल्लेख गरेका छन् ।

त्यसपछि आफूले सम्बन्धित निकायमा समेत भनिदिएको उनले स्वीकार गरेका छन् । अफिसबाट आक्रोसित मुद्रामा निस्किएको र उनी आक्रोसित भएपछि स्वास्थ्य अवस्था बिग्रने समस्या रहेको आफूलाई थाहा भएको उनले बताएका छन् ।

सोहीकारण एक पटक सम्झाउनु पर्यो भनी आफू छोराले प्रयोग गर्ने गाडी लिएर रोशनीको कोठातर्फ लागेको उनले बताएका छन् । तर, रोशनीको फोन नलागेपछि र उनका श्रीमानसँग समेत सम्पर्क हुन नसकेपछि आफू कोठामा नपुगी घर फर्किएको बयान उनले अदालतसमक्ष दिएका छन् ।

रोशनीको कोठामा भेटिएको चस्मा, जुत्ताको तलुवा आफूलाई सफाउन नियोजित तरिकाले लगिएको भन्दै उनले कोठामा नपुगेपछि कुटपिट गर्ने सन्दर्भ नै नउठ्ने बताएका छन् ।

उक्त दिन रेकर्ड भई बाहिरिएको भिडियो पनि सुनियोजित घटना भएको बयान महराले दिएका छन् । शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको थियो ।

बयान सकिएको छ । बयान सकिएपनि शुक्रबार थुनछेक बहस हुन भने सकेन । आइतबार बिहान १० बजेबाट थुनछेक बयान शुरु हुने भएको छ ।

थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश दिन सक्ने प्रावधान रहेको छ ।