मनोरञ्जन

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ ।

आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

चार दिनसम्म मनाइने छठमा शक्तिको स्रोतका रुपमा सूर्यको उपासना गरिन्छ । छठ नेपालको तराई भेगमा निकै धुमधामका साथ मनाइन्छ ।

पछिल्लो समय काठमाडौंमा समेत छठ पर्व उत्तिकै महत्वका साथ मनाउन शुरु गरिएको छ । सूर्यदेवको आराधना र उपासना गर्न बिहानैदेखि जलासयको किनारमा भक्तजनको घुइँचो लागेको थियो।

छठ पर्वको व्रतले दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वाससमेत यस पर्वको अवसरमा लिइन्छ । छठको समापनसँगै अब मूख्य चाडबाडको मौसम समेत सकिएको छ ।