समाचार

न्यु ह्याम्पसरबाट घुम्दै हिँडेका जोडी टेक्ससमा मृत फेला

न्यु ह्याम्पसरबाट हराई रहेका एक दम्पत्ती टेक्ससस्थित समुन्द्री किनारामा मृत फेला परेका छन् । ४८ बर्षीय जेम्स बटलर र ४६ बर्षीय उनकी पत्नी मिसेल अन्तिम पटक अक्टुबर १५ का दिन उनिहरुको गाडी र आर भि ट्रेलर (क्याम्पिङ गर्ने गाडी जस्तो घर) सहित टेक्ससस्थित पाड्रे आइल्याण्डमा देखिएका थिए । उनिहरुको पाड्रे आइल्याण्डको बसाई न्यु ह्याम्पसरदेखि टेक्सससम्मको अरु थुप्रै बसाईहरु मध्येको एक थियो । अक्टोबर  १६ पछि एक हप्तासम्म ती दम्पत्तीका परिवारले कुनै संपर्क नभएपछि प्रहरीमा उजुरी गरेका थिए र त्यसपछि खोजी कार्य ब्यापक बनाइएको थियो । अन्तिम पटक अक्टोबर १६ मा परिवारसँगको संपर्कमा ती दम्पत्तीले पाड्रे आइल्याण्डको दक्षिणमा पर्ने  बिच मार्कर २६३ मा क्याम्पिङ गर्ने बताएका थिए ।

त्यसपछि हप्ता दिनसम्म दम्पत्तीले आफ्नो परिवारलाई फोन सम्पर्क गरेनन् र परिवारले न्यु ह्याम्पसरबाट फोन गर्दा लगातार भ्वाइस् मेसेजमा गएपछि प्रहरीलाई जानकारी गराईएको थियो । प्रहरीको ब्यापक खोजीमा गत अक्टोबर २७ का दिन क्लेबर्ग काउन्टी प्रहरीले बिच मार्कर २६३ मा दुई जनाको शव भेटेको हो ।

प्रहरी अधिकारीका अनुसार मृतक दम्पत्तीको गाडी र आर भि ट्रेलर अक्टोबर २०-२१ तिर अमेरिका र मेक्सिको सिमा पार गर्दै गरेको देखिएको थियो तर गाडी चालक भने बटलर्  दम्पत्ती थिएनन् । प्रहरीले घटनामा संलग्न ब्यक्ती र मृतक दम्पत्तीको गाडी र ट्रेलरको खोजी गरी रहेको संचार माध्यमलाई बताएका छन् । समाचार श्रोतका अनुसार पाँच सन्तानका अभिभावक मृतक बटलर् जोडी डेढ बर्ष अगाडि अमेरिकाको राज्यहरु घुम्दै ठाउँ ठाउँमा काम गर्दै भ्रमण गर्ने उदेश्यले न्यु ह्याम्पसरबाट हिंडेका थिए ।  

समाचार श्रोत : न्युयोर्क पोष्ट