समाचार

महराको थुनछेक बहस जारी

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलत्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबारबाट सुरु भयो ।

तर, आइतबार बहस नसकिएकाले सोमबार निरन्तर हुने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

बन्द इजलासमा बहस जारी छ । बसहमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् । महराकोतर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनालीलगायतले बहस गरिरहेका छन् ।

हेर्दाहेर्दैमा राखिएको बहस सोमबार निरन्तर हुनेछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले दिन पाउने प्रावधान छ । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा दायर गरेको हो ।