समाचार

गणतन्त्र  दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए

काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेश, क्षेत्र, व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो । गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सृजना गर्ने तथा उत्पादन वृद्धिमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । ‘गणतन्त्रलाई जनताको जीवनस्तर उकास्न हामीले रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याएका छौ र उत्पादन वृद्धिमा जोड दिएका छौ,’ प्रधानमन्त्री ओलीले थप्नु भयो, ‘उपभोग्य बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आम जनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकास आयोजनाहरु तीव्र गतिमा अघि बढेका छन ।’ केपी शर्मा ओली, प्रधानमन्त्री प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा रहेको उल्लेख गर्दै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु यसका लागि क्रियाशील रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान विपरित राष्ट्रिय अखण्डतामाथि चुनौति बनिरहेका शक्तिहरुलाई राष्ट्रिय मूल धाामा समाहित गरेको उल्लेख गर्दै हिंसा र अस्थिरताको पक्षपोषण गर्नै शक्तिहरु पनि नियन्त्रित हुँदै गएको दावी गर्नु भयो । गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले जनताको हितमा काम गर्नुपर्ने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको विजय र कुलीनतन्त्रको पराजयको रुपमा व्याख्या गर्दै गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आम जनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादा राख्न पनि सबैलाई सचेत रहन आग्रह गर्नु भयो । ‘गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेका हुन् । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुन्छ । जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘ त्यस्तो व्यवहारले वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ ।’ केपी शर्मा ओली, प्रधानमन्त्री प्रधानमन्त्री ओलीले गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति रहेको समारोहमा हेलिकप्टरबाट गणतन्त्र लेखिएको व्यानरसहित पुष्पवृष्टि गरिएको थियो । त्यसैगरी समारोहमा शान्तिको प्रतिकको रुपमा परेवा र बेलुनहरु पनि उडाइएको थियो । त्यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, स्काउटलगायतका संघ, संस्थाहरुले मार्च पास गरेका थिए भने काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।