समाचार

सुरुङमा फसेका मझदुर मृत फेला

बझाङ । बझाङको कालङ्गागाड जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङमा फसेका चार जना मजदुर मृत फेला परेका छन् । आइतबार अपरान्ह ३ बजेदेखि सुरुङभित्र फसेका उनीहरुसम्म सोमबार दिउँसो मात्र प्रहरी पुग्न सफल भएको थियो ।

त्यतिन्जेल निसास्सीएर उनीहरुको निधन भइसकेको प्रहरीले जानकारी दिएको छ । थुनिएको २४ घण्टापछि मजदुरहरुको शब सोमबार दिउँसो ३ बजे निकालिएको हो ।

मजदुर थुनिएको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको उद्धार खटिएका थिए । तर, स्थानीय स्तरमा भएको प्रयास सफल नभएपछि काठमाडौँबाट उद्धार टोली जिल्लामा पुगेको थियो ।

सोमबार दिउँसो हेलिकोप्टरबाट घटनास्थलमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोली पुगेपछि मजदुरसम्म उद्दारकर्ता पुगेका थिए ।

सुरुङमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका १ का शेरसिंह धामीको निधन भएको छ ।