बिचार

महरा मेनिया : ज्योति मा तमसोगमय

पुरुषोत्तम लम्साल / भर्जिनिया

आजको दिनमा हिजोका मितिको कुरा नगरौं, भनेर मात्र हुँदैन । किनकि, आजको कुरा हिजोको मितिसँगै जोडिएर आउँछ । आजको दिनमा न कृष्णबहादुर महराले मलाई चिन्छन् न म नै उनलाई व्यक्तिगत रुपमा चिन्दछु । तर कृष्णबहादुर महरालाई ‘महरा सर’को नाममा सुनेको अढाई दशक नाघिसकेको छ ।

उतिबेला गाउँमा हुलाक, प्राधीकरण थिए । कमेरो र रातो माटोले लिपिएको विद्यालयका चौडा र फराकिला भित्ता थिए । गाउँमा मोटो मशाल भित्रिएको बेला मेरो उमेर दश वर्ष पनि कटेको थिएन । रमाइलोका लागि अरुको ब्रस (कुची) र बाल्टीन बोकेर हिंड्ने त्यही ‘वातावरण’ आज आएर महरा सरको कहानीसँग जोडिने रहेछ ।

सामन्तवाद के जाती, भूमि कसको जोत्नेको, जनसङ्घर्ष…, के के जाती संघर्ष इत्यादी नारा रङ्गाउन त्यो बेला अरुको कुची र बाल्टीन नबोकिदिएको भए …। गेरु घोलिएको टिनको बाल्टीन बोकेर ‘मशाल’का दाईहरुको लैलैमा नलागिएको भए आज को कहाँको महरा सर ? के मतलव रहन्थ्यो र ?

सानो गोठको माथिल्लो कोठामा कसले महरा सरको कुरा गरे दिमागले खुट्याउँदैनथ्यो ।  तर कट्टुको ईंजार राम्रोसँग बाँध्न नजान्ने बेलामा अग्रजहरुले गरेको तिनै ‘महरा सर’ को चर्चा गिदीमा गड्यो । फेरि गाउँमा संयुक्त जनमोर्चा भित्रियो । पुरानो नारामाथि नयाँ नारा पोत्न फेरि उनीहरुलाई रातोमाटोको जोहो पनि बालखैले गर्दिने त हुन् । हुलाकमुनीको ढिस्कोको माटो कोतरेर जनमोर्चाको बाल्टी भरिएपछि तिनर्ले कतिबेला नयाँ नारा रंगाउँथे, थाहा हुने कुरा भएन केरे । जनमोर्चा सल्बलाएको बेला जनवादी नाम दिइएको साँस्कृतिक कार्यक्रम वर्षेनी जसो हुन्थ्यो । बाबुराम भट्टराई र महरा सरबारे अरुले गरेको कुरा सुनेर कलिलो गिदीमा तस्वीर खिच्ने कुरा रह्यो । अर्र्थाेक केही होइन । यो २०४९/५० ताककै कुरा हो ।

‘महरा सर’ लाई ‘अमरसिंह’को रुपमा पढेको अलि पछि हो । ५३/५४ देखि । तर फलानो ‘अमरसिंह’ त्यही रोल्पाको विज्ञान शिक्षक, त्यही बेला चुनाव जितेका जनमोर्चाका नेता नै पक्का हो भन्नेमा चाँहि सन्देह थिएन ।

शसस्त्र विद्रोहको एउटा कालखण्डमा महरा सर र उनका विद्यार्थीहरुको लीला सुनेर, पढेर हुर्कने क्रम जारी रह्यो ।

वार्ताटोलीको संयोजक भएर काठमाडौं झरेको बेला महरा सरलाई देखें । सूचना तथा संचारमन्त्री हुँदा, पार्टीको प्रवक्ता हुँदा संयोगले फेरि भेट भए । आफ्नै टिमले दुःखले तयार गरेको समाचार सामग्री वृत्तचित्रको रुपमा सार्वजनिक हुने तय भएपछि फेरि भेट भयो । कुनै बेला माओवादीबाट एमाले प्रवेश गरेका अमर गिरी (पछि प्राज्ञ) को डेरामा पुग्दा सुनेको तिनै महरा सर र मैले भेटेको महरा सरमा तात्विक फरक थिएन । मलाई लाग्थ्यो अरुले जे जसरी चित्र र चरित्र उतारेका थिए, महरा सर हूबहू उस्तै रैछन् । अर्थात् असन्तुष्टीलाई, उग्रतालाई, आक्रोशलाई, रिसलाई पनि शिष्ट, शान्त, नम्र भएर अभिव्यक्ति दिनसक्ने । र, विपक्षलाई चाहिने तर्क तयार गरेर राख्ने ।

यसैले मान्छेहरुले महरा सर जस्तो भन्ने गरेका रहेछन् ।

शिक्षा लिन समयको विश्वविद्यालय अचम्मको छ ।

कारागारको फलामे बारभित्र कान्तिक्षय भएको अनुहारमा टोलाइरहेका महरा सरको तस्वीरको सन्देश पुस्तक र विद्यालयबाट पाइने भन्दा धेरै छ ।

ठूलो पनि छ ।

र, गम्भीर पनि छ ।

हामी आफैं सबै जिन्दगी बाँच्ने अलौकिक हैनौं र छैनौं । त्यसैले अरुले भोगेको समयबाट सिक्न मज्जाले पाइन्छ । सिक्नका लागि यो पनि ठूलो विकल्प हो । अरुका जिन्दगीका पाना पल्टाएर सिक्न पाउने अवसर सबैसँग उत्तिकै छ ।

मान्छे कति निरीह छ भने उसले आफ्नो जिन्दगीको भोगाईको प्रतिलिपि अधिकार वा सर्वाधिकार कहिल्यै आफूसँग सुरक्षित राख्न सक्दैन । भोगाईको ‘ट्रेडमार्क रिजर्भ’ गरेर राख्न सकिने होइन रहेछ । सकिन्थ्यो त महरा सरले पनि जिन्दगीको अहिलेको अँध्यारो काखीमुनी राखेरै लुकाइदिने थिए । जहाँ लेखियो त्यही पाना च्यातिदिने थिए । तर, सक्दैनन् ।

आफ्नो नियति मान्छे आफैंले लेख्ने हो ।

भावी र भाग्यको कर्ता दैव हैन, मान्छे आफैं हो ।

आफ्नो प्रारब्धको निर्माण पनि मान्छे आफैंले गर्ने हो ।

उचाईमा पुग्नु र फेदीमा झर्नुबीच एउटै खराब चालको अन्तर त हो । हावाको वेग र कामको वेगमा अन्तर छ । हावाको वेगमा आवेग हुन्न । कामको वेग आवेगहरुकै संकलित रुप त हो । यो आवेग वा धक्कामा चिप्लिएपछि फेदीमा पुग्नु के आश्चर्य भो र ?

आवेग र संवेग पनि न्यूटनको चालको दोस्रो नियम जस्तो । जब दुई विपरीत वस्तु एक आपसमा ठक्कर खान्छ त्यो बेला एउटाले अर्कामाथि लगाएको धक्काले वस्तुको संवेग परिवर्तन हुन्छ । व्यक्तिगत जीवनमा महरा सरको व्यवहारमाथि ‘आकर्षणको सिद्धान्त’ र ‘यौनको सिद्धान्त’ लगाएर भइरहेको व्याख्याले त्यही आवेग र संवेगको गति निर्देश गर्छ ।

कामको आवेगको त्यो तीब्रता थेग्न नसकेर, इन्द्रिय र जनेन्द्रीयउपर नियन्त्रण गुमाएरै तपाई फेदीमा पुग्नुभएको हो ? हो भने त यो फगत अफसोच भो ।

महरा सर ! हामीले समयबाट सिकेको पाठ हो र तपाई अध्यापक ।

विश्वाशका गाताले मोरिएको पुस्तकमै सबैभन्दा धेरै घातको ब्याख्या हुन्छ ।

र त्यो नमिठो हून्छ । ज्यादै नमिठो ।

मैले भोजन गरिरहेको आहाराले मलाई जीवित राख्छ भन्ने मेरो विश्वास हो । पानीसँग मेरो विश्वास के हो भने म तिर्खा मेट्छु । उर्जा प्राप्त गर्न हावामाथि मेरो विश्वास छ । विश्वासका यस्तै टुक्रा जम्मा गरेर मान्छेले बनाउने हो आस्थाको धरहरा ।

महरा सरले धेरैको विश्वास र आस्थाको पत्रमाथि अनायाश ‘व्यभिचारको एसिड’ खन्याइदिए झै भयो होला । अरुलाई पनि । व्यभिचारको अर्थ कुमार्ग एवम् निकृष्ट आचरण नभइदिएको भए महरा सरलाई चिन्नेले उस्तो चासो देखाउँदैनथे पनि कि ! धेरै जन छाँगाबाट खसेको जस्तो हुँदैनथे कि ? अब त यस्ता अनुमानका अर्थ पनि रहेनन्, सबैले सबै पचाइसकेका छन् । सान्त्वनाका ओखती पनि आलोचनाका बिष पनि ।

पात्रगत सम्बन्धमा ईख र बिषको घोल तयार भएपछि त्यही मसीले लेखिने हो नियति भने त्यो न रुचिकर हुन्छ न प्रियकर । त्यो श्रवणीय पनि हुँदैन दर्शनीय पनि हुँदैन । समयले दिने यो शिक्षा विश्वविद्यालयरुपी संस्थाबाट कहाँ मिल्छ ? मिल्दैन ।

अंगुलीमाल भन्ते भएर भीक्षा ग्रहण गर्न निःसङकोच समाजको द्वारमा पुग्दा गौतम बुद्धले भनेथे, ‘एक पुण्यको काम पनि समग्रतापूर्वक गरियो भने त्यसले दोष पखाल्छ ।’ अंगुलीमाल परिनिवृत हुनुअघि बुद्धले उनलाई दिएको महत्व देखेर बेखुसी अजातशत्रुसँग बुद्ध थप्छन्, ‘अंगुलीमालको  जागृत सोच नै त्यो तत्वबोध हो जसले मान्छेलाई अचेतनबाट चेतन स्थितिमा रुपान्तरण ल्याउँछ ।’

तर महरा सर ‘ज्योति मा तमसोगमय’ भए । ‘तमसो मा ज्योतिर्गमय’को विपरीत । उज्यालोबाट अँध्यारोतिर । बोधबाट स्खलनतिर । समग्रताबाट शून्यतिर ।

समय त शून्यतामा डुबेर निर्बाण प्राप्तीको बाटो खोज्ने थियो । बेला थियो काम र आशक्तिभन्दा टाढा पुगेर केश कसरी फूल्यो भन्ने बारे चिन्तन गर्ने । तीन बीसको डाँडो काटेपछि भोगाइका पोकापन्तुरा खोल्नुको साटो भोगकै अभियोगमा दण्डित हुनपर्ने जिन्दगीको यो पटकथा बडो दुरुह छ ।

कामहरुमध्ये पनि श्रेष्ठ काम चेतना बाँड्नु हो ।

त्यो कामले सङ्गत समाजको निर्माण हेतु योगदान गर्ने हुँदा त्यो श्रेष्ठ भयो । यसका लागि चाहिने बुद्धिमता, अभय, संयम र न्यायिक कोण महरासरले चार दशकसम्म बाँडिरहे । सबै आर्कबाट । सबै मोर्चाबाट ।  

तर यो कामको भूमिका निभाएर महरा सर वासनाजनित कामसँग ठक्कर खाए । यो ठक्कर माथि भनिए जस्तै उचाईमा पुगेर वेग र आवेग थेग्न नसकी हठात् फेदीमा झरेको जस्तो । काम र वासनासँग जोडिएको यो मनोविकारले महरा सर मात्र खण्डित भएनन् अरु धेरै पनि खण्डित भएको हुनपर्छ ।

महरा–रोशनी प्रकरणमा लतपत भएको ‘अनिमा र अनिमस’को कथ्य र कहानी प्रहरी, अदालतको बाटो हुँदै कारागारको फालामे डण्डीले घेरिएको अँध्यारो चौघेरामा पुगेको छ ।  

र, मेरो युगका श्रेष्ठ शिक्षक नैतिक पतनको कसुरमा कठघराको बाटो हुँदै कारागारको फलामे डण्डीको पछाडि नुर गिराएर यताउता गरिरहेछन् ।

उज्यालो देखेर हुत्तिएको पुतली कसरी तातोको शिकार हुन्छ ?

सबै वासनामा सुगन्ध कहाँ हुन्छ ?

वासनाको कालो दाग लिएर कठघराको बाटो हुँदै कारागारको फलामे बारभित्र शिर निहुर्याएर यताउता टहलिरहुनु भएका महरा सर हेरे हुन्छ ।