समाचार

भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो ।

भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको छ ।

नेपालका सुदुरपश्चिम प्रदेशमा पर्ने दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले आफ्नो भूभागमा राखेको छ । त्यसो त यी भूमि आफ्नो भएको भन्दै भारतले निकै समयदेखि नेपालसँग बखेडा झिक्दै समेत आएको छ ।

जम्मू–कश्मीर औपचारिक रूपमा केन्द्र शासित राज्यमा विभाजित भएसँगै भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो र भारतीय नक्सामा कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर क्षेत्र भारततर्फ पारिएको छ ।

लिपुलेक क्षेत्रको समेत झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र भारतमा पारिएको छ । यहाँ भारतको अतिक्रमण रहेको छ । यसअघि नक्सामा नभएपनि भारतले भौतिक रुपमा अतिक्रमण तिब्र बनाएको थियो ।

भारतले आफ्नो भनेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको नक्सामा पनि समावेश छन् । नेपालले गत साल फागुनमा मात्र नयाँ नक्सा सार्वजनिक गरेको हो ।

यो क्षेत्र भारतले अतिक्रमण गरेपनि नेपालकै भूभाग भएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । नेपालको भूभाग भारतले नक्सामा राखेपछि नेपालमा भने त्यसको व्यापक विरोध शूरु भएको छ ।

कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतले यसको विरोध गरेका छन् । यो समस्याको सिघ्र समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।