फिचर

नेपाल एयरलाइन्सको आर्थिक स्वास्थ्य सुधारोन्मुख, न्यारोबडीको किस्ता तिर्यो

काठमाडौं । ४० अर्ब भन्दा माथि ऋण बोकेर संचालन भइरहेको नेपाल वायुसेवा निगमको क्रमशः आफ्नो आर्थिक स्वास्थ्यमा सुधार गर्दै गएको छ ।

निगमले न्यारोबडी जहाजको तीन महिनाको एकमुष्ट किस्ता हालै तिरेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार निगमले कूल ३३ करोड रुपैयाँ किस्ता तिरेको हो ।

कर्मचारी संचायकोषबाट जहाज किन्दा लिएको १० अर्ब रुपैयाँको किस्ता निगमले तिरेको हो । यद्दपी निगमले वाइडबडी जहाज ए३३० को भने किस्ता तिर्न सकेको छैन ।

यो रकम साँवामा परिणत गरी पुनः ऋणमा बदलिएको छ । निगमले चार वटा जहाज खरीद गर्दा यो ऋण बोकेको हो । अब निगमले क्रमशः मुनाफा कमाइरहेको भन्दै सरकारको साथ पाए छिट्टै ऋणबाट मुक्त हुन सकिने बताएको छ ।

कार्यकारी अध्यक्ष खरेललका अनुसार निगमले एक वर्षमा करीव २ अर्ब २७ करोड रुपैयाँ बचत हुने गरी खर्च कटौतीको कार्यक्रम प्रारम्भ गरेको छ ।

यसमा रुट व्यवस्थापन, इन्धनको किफायती प्रयोग, प्रविधिको अधिकतम प्रयोगजस्ता माध्यम अपनाइएको छ । विगतमा विदेशीबाट संचालन भएको सेवा स्वदेशीमार्फत संचालन गरेर समेत खर्च कटौती भइरहेको उनले बताए ।

अहिले नेपाल एयरलाइन्सले ४ वटा जहाजबाट विभिन्न ७ मुलुकका ९ गन्तब्यमा उडान गर्दै आएको छ ।