फिचर

मध्यावधी निर्वाचनले ट्रम्पलाई धक्का, केन्टकीको गभर्नर गुम्यो, भर्जिनियाको दुबै सदनमा डेमोक्र्याट

न्यूयोर्क

मंगलबार अमेरिकाका बिभिन्न राज्यमा सम्पन्न मध्यावधी निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गम्भीर धक्का दिएको छ । रेडस्टेटको परम्परागत छवी बनाएको केन्टकीको गभर्नर डेमोक्र्याट उम्मेद्वारले हत्याएका छन् भने भर्जिनियाको संसदको दुबै सदनमा पहिलोपटक डेमोक्र्याटको बहुमत पुगेको छ ।

केन्टकीका बहालवाला गभर्नरमा म्याट बेभिनलाई राज्यका महान्याधीवक्ता एवं डेमोक्रेटिक उम्मेद्वार एन्डी बेसेरले अत्यन्त प्रतिश्पर्धात्मक निर्वाचनमा पराजित गरेका हुन् । झन्डै १४ लाख भोट खसेकोमा बेसेरले बेभिनभन्दा पाँच हजार धेरै मत ल्याए । सोमबार साँझ केन्टकीमा चुनावी सभा गर्दै ट्रम्पले बेभिनको हार आफ्नै पराजय हुनेभन्दै समर्थकहरुलाई अपिल गरेका थिए । आफुमाथि संसदको तल्लो सदनमा सुरु महाभियोग प्रकृयालाई निस्तेज पार्न बेभिनको जित अपरिहार्य हुने उनको दलिल थियो ।

सन् २०१६ मा ट्रम्पले केन्टकीमा हिलारी क्लिन्टनलाई ३० प्रतिशत बिन्दुको मतान्तरमा जितेका थिए । त्यसैले उनको अपिललाई त्यहाँका जनताले गम्भीर रुपमा लिन्छन् भन्ने अपेक्षा थियो । तर नतिजा ठीक उल्टो निस्कियो । यसले सन् २०२० मा हुने राष्ट्रपतिय चुनावकै लागि ट्रम्पलाई धक्का दिएको विश्लेषण भइ रहेको छ । ट्रम्प भने अहिलेसम्म पराजय स्वीकार्न तयार छैनन् । उनी राज्यका अन्य पदमा रिपब्लिकनले जितेको भन्दै जस दावी गरि रहेका छन् । केन्टकी सिनेट रिपब्लिकन नेता मिच म्याकोनेलको गृहराज्य हो । सन् २०२० मा उनी नयाँ कार्यकालका लागि चुनाव लड्दैछन् । त्यसैले पनि मंगलबारको मध्यावधी निर्वाचनलाई महत्वका साथ हेरिएको थियो ।

यस्तै मंगलबारको निर्वाचन मार्फत भर्जिनियाका दुबै सदनमा पहिलो पटक डेमोक्र्याटले बहुमत हात पारेका छन् । १०० सदस्यीय तल्लो सदन हाउस अफ डेलिगेट्समा डेमोक्र्याटले ५४ सिट जितेका छन् । दुई बर्षअघिको चुनावमा उनीहरुको ४९ सिट थियो । यस्तै ४० सदस्यीय सिनेटमा डेमोक्र्याटले २१ स्थान जितेका छन् । दुई बर्ष अघि उनीहरु १९ सिटमा सिमित थिए ।

लामो समय रिपब्लिकन स्टेटको रुपमा रहेको भर्जिनिया २००८ मा पहिलो पटक बाराक ओबामाले हत्याएका थिए । त्यसअघि राज्यमा रिपब्लिक राष्ट्रपतिय उम्मेद्वारले मात्र जितेका थिए । स्थानीय तहमा पनि त्यसपछि क्रमशM डेमोक्र्याटले जित्न थालेका हुन् । मंगलबारको जीतसँगै भर्जिनियाको संसदीय र कार्यकारी दुबै नेतृत्व डेमोक्र्याटको हातमा पुगेको छ । ट्रम्पले भर्जिनियामा रिपब्लिकनलाई जिताउन मतदातालाई पटक पटक आह्वान गरेका थिए ।

मंगलबार सम्पन्न मिसिसिपी गभर्नर चुनावमा भने रिपब्लिकन उम्मेद्वार टेट रिभेसले डेमोक्र्याट उम्मेद्वार जीम हुडलाई पराजित गरेका छन् । बलियो रिपब्लिकन राज्य मिसिसिपीमा रिभेस साढे पाँच प्रतिशत बिन्दुको मतान्तरमा बिजयी भएका हुन् । चुनाव जिते पनि मतान्तर रिपब्लिकनका लागि सन्तोषजनक नभएको विश्लेषकहरुको भनाइ छ । त्यसबाहेक न्यूह्याम्पसर, इन्डियाना, पेन्सिलभेनिया लगायत बिभिन्न राज्यमा सम्पन्न स्थानीय तह चुनावमा पनि डेमोक्र्याटलाई फाइदा भएको छ ।