रोचक खवर

नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन

काठमाडौं । नेपाल सरकारले नक्सा विवादबारे भारतीय पक्षसँग कूटनीतिक तथा राजनीतिक रुपमै छलफल चलाउने भएको छ ।

नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गर्दै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ ।

यही सन्दर्भमा सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी हुने बताएका हुन् ।

बिहीबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बास्टाले सीमा विवाद समाधान गर्न दुबै तबरबाट पहल हुने बताएका हुन् ।
एकपक्षीय रुपमा जारी नक्सालाई नेपालले स्वीकार नगर्ने र विवाद समाधानमा पहल गर्ने उनको आश्वासन रहेको छ । सरकार गम्भीरतापूर्वक देशको सीमा रक्षा, सार्वभौम स्वाधीनताको रक्षा गर्न प्रतिवद्ध छ, उनले भने ।

उता, बिहीबार नै कांग्रेस सभापती शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै भारतको नक्साप्रति आपत्ति जनाएका छन् ।

देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीसँग टेलिफोन वार्ता गर्दै उक्त धारणा राखेका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देउवाले कुराकानीका क्रममा नक्सामा भारतले समावेश गरेको भूभाग नेपालको भएको स्मरण गराएका छन् ।

यता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले सार्वजनिक गरेको झण्डा मान्य नहुने बताएका छन् । बिहीबार पोखरा पुगेका प्रचण्डले लिपुलेक विवादबारे यसअघि पनि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको स्मारण गरे ।