समाचार

एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

काठमाडौं । एटीएम प्रणाली ह्याक गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका ६ चिनियाँ नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

नेपालका ७ वटा बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै भदौमा उनीहरु समातिएका थिए । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान भएका छन् । घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले उच्च चासो देखाएक छन् ।

यो घटनालाई प्रहरीको समेत सफलता मानिएको छ । किनकी सामान्यतया विदेशमै प्रणाली ह्याक गरी स्वदेशमा हुने चोरी समात्नु कठिन मानिन्छ ।

प्रहरीको अनुसन्धानलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पनि सहयोग गरेको छ । यस घटनापछि भने नेपालको बैंकिंग प्रणालीको सुरक्षामाथि प्रश्न भने उठेको छ ।