समाचार

लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । भारतले आफ्नो नक्सामा पारेको क्षेत्र लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने भएको छ ।

विवादपछि उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक डाकेका छन् ।

बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको छ । अघिल्लो शनिबार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रका भूभाग भारतीय नक्सामा पारिएको छ ।

ती क्षेत्र नेपालको नक्सामा पनि समावेश छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा अटाएको छ । नक्सा सार्वजनिक भएपछि नेपाल भित्र भने व्यापक भारत विरोधी अभियान चलिरहेको छ ।

नेपाल सरकारले समेत उक्त नक्सा मान्य नहुने स्पष्ट बताएको छ । यस मुद्दामा नेपाली कांग्रेस तथा अन्य पार्टीको धारणा पनि सरकारसँग मिलेको छ ।

खासगरी राष्ट्रिय मुद्दा भएकाले समान धारणा बनाएर यस पटक भने पार्टीहरुले गतिलो सन्देश दिन खाजेको छन् । प्रधानमन्त्रीले शनिबार पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्री, सीमा विज्ञलगायतलाई डकिएको छ । बैठकमा राजीतिक दलका प्रतिनिधीले समेत भाग लिनेछन् ।