फिचर

रोचक बन्दै डेमोक्रेटिक राष्ट्रपतिय होड, अर्बपति ब्लुम्बर्ग पनि रेसमा छिर्ने तयारीमा

न्यूयोर्क

अर्बपति व्यवसायी एवं न्यूयोर्क सिटीका पूर्व मेयर माइकल ब्लुम्बर्गले राष्ट्रपतिय उम्मेद्वारीको तयारी गरेका छन् । भिडम्भाडयुक्त डेमोक्रेटिक उम्मेद्वारहरुको सूचीमा ब्लुम्बर्ग थपिन लागेका हुन् ।

गत बर्ष देखिनै सम्भावित उम्मद्वारको रुपमा हेरिएका ब्लुम्बर्गले गत मार्चमा उम्मेद्वारी नदिने प्रष्ट पारेका थिए । तर, अहिले उनले मन बदलेको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले केही दिन भित्रै डेमोक्रेटिक प्राइमरी चुनावमा भाग लिन अलावामा उम्मेद्वारी दर्ता गर्ने अपेक्षा गरिएको छ ।

सुरुमा डेमोक्रेटिक पार्टीमै रहेका ब्लुम्बर्गले सन् २००१ मा दर बदलेर रिपब्लिकन उम्मेद्वारको न्यूयोर्कको मेयर जितेका थिए । त्यसपछि सन् २००७ मा फेरि उनले रिपब्लिकन आवद्धता त्यागे र स्वतन्त्र उम्मेद्वारको रुपमा न्यूयोर्कको मेयर जिते र सन् २०१३ सम्म चलाए । २०१८ मा फेरि डेमोक्र्याटको सदस्यता लिएका उनले यो बर्षको सुरुवातमै उम्मद्वारी घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर, मार्चमा उनले अपेक्षा विपरितको निर्णय सुनाए ।

उम्मेद्वार नबन्ने घोषणा गरे पनि उनले डेमोक्र्याटको आन्तरिक प्रतिश्पर्धा नजिकबाट हेरि रहेका थिए । डेमोक्रेटिक उम्मेद्वारहरु ज्यादा बायाँ ढल्किन थालेको उनको विश्लेषण थियो । प्रतिश्पर्धी डेमोक्रेटिक फिल्ड अगाडी देखिएका बर्नी स्यान्डर्स या एलिजावेथ वारेनले प्राइमरी चुनाव जितेमा आफूले समर्थन गर्न नसक्ने उनको मत थियो । उनीहरुको समाजवादी एजेन्डा अमेरिकाले नपचाउने ब्लुम्बर्गको तर्क छ । पूर्व उपराष्ट्रपति जो बाइडेन जस्ता मध्यमार्गी उम्मेद्वारले टिकट पाउनु पर्ने उनको राय रहेकोमा बाइडेन कमजोर बन्ने लक्षण देखिएसँगै आफैँ अघि बढ्न लागेका हुन् ।

साढे ५१ अर्ब डलरका मालिक ब्लुम्बर्ग फोर्ब्स म्यागजिनको अमेरिकी धनाड्य सूचीमा आठौँ स्थानमा छन् । तीन अर्ब डलरका मालिक राष्ट्रपति डोनाल्ड ट्रम्प सूचीमा २७५ स्थानमा छन् ।  ७७ बर्षीय ब्लुम्बर्ग ट्रम्पभन्दा चार बर्ष जेठा छन् । आइवामा पहिलो डेमोक्रेटिक प्राइमरी ककस हुन अब तीन महिना पनि बाँकी छैन । यस्तो समयमा ब्लुम्बर्गको प्रवेशले ह्वाइट हाउसकालागि डेमोक्रेटिक रेस अझ रोचक बनाउने अपेक्षा गरिएको छ । प्रशस्त सम्पत्ति रहेका कारण ब्लुम्बर्गलाई क्याम्पेन सुरु गर्न पैसाको खाँचो हुँदैन । जबकी उनले समर्थन गर्न खोजेका बाइडेन अहिलेको डेमोक्रेटिक फिल्डमा तुलनात्मक गरीब छन् ।

गत सेप्टेम्बरमा सम्पन्न तेस्रो त्रैमासिक रिपोर्ट अनुसार स्यान्डर्स क्याम्पेनको बैंक खातामा सबैभन्दा धेरै तीन करोड ३७ लाख अमेरिकी डलर रहेको छ । वारेनसँग दुई करोड ५७ लाख डलर रहेको छ भने इन्डियानाको साउथ बेन्ड सिटीका मेयर एवं सबैभन्दा युवा उम्मेद्वार पिट बुटिजजको क्याम्पेन खातामा दुई करोड ३४ लाख डलर रहेको छ । जबकी बाइडेनसँग ९० लाख डलर मात्र छ । बिभिन्न मत सर्वेक्षणमा आइवा ककसमा एक नम्बरमा वारेन र दोस्रोमा बुटिजज छन् । त्यसपछि स्यान्डर्स र बाइडेन छन् । बुटिजजले आइवामा बिजय हात पारे २००८ मा बाराक ओबामाकै शैलीले उदान सक्ने अनुमान गरिएको छ । युवा, राष्ट्रिय राजनीतिमा नयाँ नाम एवं समलिङ्गी रहेको कारण धेरै राजनीतिक पण्डितले उनलाई पत्याएका छैनन् । तर, आइवामा उनको बढ्दो क्रेजले उनीप्रति जिब्रो टोक्नेको संख्या भने बढ्न थालेको छ । उनी आफुलाई वारेन या स्यान्डर्स जस्तो समाजवादी नभइ मध्यमार्गीकै रुपमा चिनाउँछन् । ब्लुम्बर्गको उपस्थितीले बुटिजजको क्रेजमा कस्तो प्रभाव पार्छ भन्ने चाहिँ हेर्न बाँकी छ । तर, जे होस् ब्लुम्बर्गको पहिलो प्रहार सूचीमा बुटिजज होइन वारेन र स्यान्डर्स नै हुनेछन् ।