डायस्पोरा

न्यूयोर्क /८ अक्टोबर, २०१९

विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा. बद्री पाख्रेलज्यूद्वारा नेपालीमा अनुवादित
मार्कण्डेय महापुराण, अग्नि महापुराण
र वामन महापुराणकाे लाेकार्पण भयाे । कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचनको सभाकक्षमा शुक्रबार साँझ गरिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईज्यूको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य श्री नवीन्द्रराज जाेशीको विशिष्ट आतिथ्य, महावाणिज्यदूत पुष्पराज भट्टराईज्यूकाे आतिथ्यमा तथा वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अरु विशेष महानुभावहरुकाे उपस्थिति रहेको लोकार्पण कार्यक्रममा पुराणका अनुवादक श्रष्टा डा. बद्री पोख्रेलले आफ्ना तीन कृतिमाथि प्रकाश पारेका थिए ।

आचार्य पीपलमणि सिग्देलले श्लोक वाचन सहित सञ्चालन गरेको ग्रन्थ लोकार्पण कार्यक्रममा बिभिन्न बौद्धिक व्यक्तित्वहरुले यस्तो किसिमको ज्ञानका पुस्तकहरु नेपाली समाजले सहज भाषाशैलीमा उपलब्ध हुनु समाजलाई पुरस्कार सरह भएको बताएका छन् ।

लेखक तथा अनुवाद डा. पोख्रेल पुस्तकबारे भन्नुभयाे; “संस्कृत भाषा आफैमा ज्ञान हो । त्यही ज्ञानलाई सरल भाषामा नेपाली पाठक तथा जिज्ञासुहरु समक्ष ल्याउने मेरो प्रयासलाई नेपाली वांमयले पक्कै सम्झनेछ । धर्म, संकृति र संस्कार नै जीवनको अनुशासन हो । मार्गनिर्देशन हो । मैले गरेको मेहनतले पक्कै पनि सभ्य समाज निर्माणमा एउटा ईंटाको काम गर्ने विश्वास लिएको छु ।”

भाषा साहित्यका पाठकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैले लोकार्पण कार्यक्रम रुचिपुर्वक श्रवण गरेका थिए ।

नेपाली मानक भाषाको संरक्षण गर्ने समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलज्यू तथा पुराणका अनुवादक डा. पाेख्रेलज्यूलाई न्यूयाेर्कका साहित्यकारहरूले सम्मान गरेका थिए ।