समाचार

आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने गरी काम गर्ने प्रयासमा छन् ।

उनी आक्रामक पनि देखिएका छन् । तर, आफ्नै सचिवालयको कार्यशैली र गतिबाट भने उनी संतुष्ट हुन नसकेको बताइएको छ । सोहीकारण उनले यस्तो सुझाव दिएका छन् ।

सरकारको कार्यशैलीका कारण जनतामा असन्तुष्टी मात्र पैदा भएको छैन, स्वयमः प्रधानमन्त्री ओलीको लोकप्रियतामा भने प्रश्न उठ्न थालेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले आफ्नो स्वभावअनुसार काम गर्न चाहनु र त्यसमा उनको टीमले साथ नदिँदा अवश्य असन्तुष्टी देखिन सक्छन् ।

त्यसो त सल्लाहकारहरुले केही दिनमै ठूलै परिवर्तन हुने संकेत विभिन्न संचारमाध्यमबाट गरिसकेका छन् । उनीहरुले सचिवालयको फेरफेर सामान्य भएको समेत प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीले केही मन्त्रीहरुसमेत हेरफेर गर्न चाहेका छन् । तर, दुई पार्टी मिलेर बनेको नेकपा भित्रको समिकरण मिलाउनु पर्ने भएका कारण उनी एकलौटी निर्णयबाट यसो गर्न पनि सक्दैनन् ।