समाचार

आलमको बहस जारी, पक्षधर वकिलले बहस थाले

रौतहट । बम विष्फोटबाट घाइते भएका मानिसलाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद आफताव आलमको मुद्दाको वहस अझै जारी रहेको छ ।

सोमबारदेखि आलमको पक्षधर वलिकले बहस थालेको जिल्ला अदालत रौतहटले जनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्षमा बहस शुरु भएको छ ।

आलमको पक्षबाट वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी, सुनील पोखरेल, शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेले बहस गरे । आलम पक्षमा ३० जना भन्दा बढी वकिलले बहस गर्दैछन् ।

त्यसकारण बहस अझै लम्बिने सम्भावना रहेको बताइएको छ । बहसमा वकिलहरुले राजपुर घटनामा आलम संलग्नता नै नरहेको बताएका छन् ।

उनीहरुले आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने तर्क समेत गरेका छन् । संचारमाध्यम प्रयोग गरी आलमको बदनाम भएको र मानहानी भइरहेको समेत उनीहरुको भनाई छ ।