विश्व

दोस्रो कार्यकालका लागि मोदीले लिए सपथ, समारोहमा भाग लिन प्रम ओली दिल्लीमा

काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । स्थानीय समय अनुसार बिहीबार साँझ सात बजे नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा मोदीले आफ्नो मन्त्री मण्डलका सहयोगीहरुका साथ सपथ ग्रहण गरेका हुन् ।

मोदीको सपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए । ओली सहित मोदीले आफ्नो सपथ ग्रहणका लागि बिमस्टेक सदस्य देशका सरकार प्रमुखलाई निम्तो दिएका थिए । पहिलो कार्यकालको सपथमा सार्क सरकार प्रमुखलाई बोलाएका मोदीले यसपटक पाकिस्तानसँग बिबाद बढेपछि बिमस्टेकलाई महत्व दिएका हुन् ।

मोदी क्याबिनेटका प्रमुख सदस्यहरुमा पनि यसपटक फेरबदल देखिएको छ । भारतीय जनता पार्टीलाई चुनावमा महत्वपुर्ण जित दिलाउन प्रमुख भूमिका खेलेका अध्यक्ष अमित शाह मोदी सरकारमा अर्थमन्त्रीको रुपमा सामेल भएका छन् । उनलाई मन्त्री मण्डलमा तेस्रो स्थानमा राखिएको छ ।

त्यस्तै अघिल्लो कार्यकालमा मोदीलाई सफल बनाउन प्रमुख भुमिका निभाएका अर्थमन्त्री अरुण जेट्ली र विदेश मन्त्री शुष्मा स्वराजले यो कार्यकालमा मन्त्री बन्न अश्विकार गरेका छन् । दुबै जनाले स्वास्थ्यका कारण मन्त्रीको जिम्मेवारी नलिने निर्णय गरेका हुन् । अघिल्लो कार्यकालमा मोदीको प्रमुख सहयोगीको भूमिका निभाएका भाजपाका पूर्व अध्यक्षहरु राजनाथ सिंह र नितिन गड्करी भने मन्त्री पदमा दोहोरिएका छन् । सिंह मोदी पछिको दोस्रो स्थानमा छन् भने गड्करी शाह पछिको चौथो स्थानमा रहेका छन् ।

नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीमा प्रमुख भूमिका निभाएका तात्कालिन विदेश सचिव सुब्रमण्यम (एस) जयशंकरलाई पनि मोदीले मन्त्री मण्डलमा सामेल गरेका छन् । उनको जिम्मेवारी प्रष्ट भइ नसके पनि विदेश मन्त्रालयकै कार्यभार पाउने आशंका भारतीय मिडियाहरुले गरेका छन् ।