समाचार

‘हामी नेपाली ग्लोबल’को अन्तराष्ट्रिय सम्मेलन हुँदै

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
‘हामी नेपाली ग्लोबल’ ले शान्ती पदयात्रा गर्दै अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । एक वर्ष अघि सबै जाती बर्ग क्षेत्र र राजनीतिबाट माथि उठ्दै ‘हामी नेपाली ग्लोबल’ नामक संस्थाको न्यूयोर्कमा औपचारिक उद्घाटन भएको थियो ।
स्थापनाको प्रथम बार्षिक उत्सबका अवसरमा आगामी नोभेम्बर २३ मा ज्याक्सन हाइटको ड्राइभरसिटि प्लाजाबाट शान्ती पद यात्रा गर्ने तयारी भइरहेको छ । ड्राइभरसिटि प्लाजाबाट निस्किएको पदयात्रा रुजबेल्ट एभिन्यु, ३७ एभिन्यु हुँदै ड्राइभरसिटि प्लाजामै पुगेर टुङ्गिने छ ।
पदयात्रा पछिको सम्मेलनमा एक वर्षको प्रगती बिवरणको भिडियो प्रस्तुत गरिनेछ भने अमेरिका च्याप्टर गठन गर्दै सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ । कार्यक्रममा सहभागीहरुलाई हामी नेपाली ग्लोबलको स्कुलिङ र हामी नेपाली ग्लोबल एलएलसी सम्बन्धी जानकारी गराइनेछ । संस्थाको भिजन मिसन के हो ? कसरी काम गरिन्छ भन्ने बारेमा पनि कार्यक्रममा बताइने छ । कार्यक्रममा अमेरिका, क्यानडा, युरोप, कोरिया, हल्याण्ड, बेल्जियम, इङ्ल्याण्ड, नेपाल लगायत बिभिन्न मुलुकमा रहेका नेपालीको सहभागिता रहने संस्थाका अध्यक्ष अमृत लामाले जानकारी दिए ।
विश्वभरी छरिएर रहेका नेपालीलाई एकतृत गर्दै नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले हामी नेपाली ग्लोबलले बिभिन्न कार्ययोजना बनाइरहेको उनले बताए । नेपालको पूर्वाधार बिकास, शिक्षा, स्वास्थ्य, रोजगार, लगायतमा लगानी गरेर नेपालमै रोजगारी सिर्जना गर्ने संस्थाको योजना छ ।
बिदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा लगानी गर्ने र आफ्नो मुलुकलाई बिकसित र समृद्ध बनाउने अभिप्रायले संस्था स्थापना गरेको आयोजकले जनाएको छ । बिदेशिएका युवाहरुलाई तार्गेट गरेर बिभिन्न योजना बनाउने र काम गर्ने संस्थाको लक्ष्य रहेको र त्यसै अनुसार बिदेशिएका युवाहरुलाई अफ्ठेरो परिस्थितिमा सहयोग गरिरहेको पनि बताए ।
‘मलेशियामा अलपत्र परेका लाशलाई नेपाल पठाउने, फ्रस्टेसन, डिप्रेसनमा परेर छटपटिएकालाई नेपाल फर्काएर औषधि उपचार गर्ने लगायतका काममा संस्थाले सहयोग गरिरहेको छ’ अध्यक्ष लामाले भने ।
संस्था स्थापनाको एक वर्षमै सबै काम पुरा हुँन नसक्ने भन्दै नेपालमै कार्यालय खोलेर योजना बद्ध ढंगले काम भइरहको उनले बताए ।
आय आर्जनको काममा युवाहरुलाई लगाएर बिदेशिएको युवा जमातलाई रोक्नकालागि संस्थाले बिशेष ध्यान दिर्दै थुप्रै योजना बनाइरहेको पनि जानकारी गराए । अमेरिका, नेपाल लगायत बिभिन्न ३० मुलुकमा संस्थाको सम्पर्क कार्यालय बनिसकेको छ । संस्थामा हालसम्म ४३० फाउण्डर मेम्बर छन् । संस्थाको फाउण्डर मेम्बर कहुनका लागि १ सय अमेरिकी डलर शुल्क लाग्ने छ ।
हामी नेपाली ग्लोबलमा ४ एम्वासडर, ३२ काउन्सिलर, सञ्चार, कानुन, स्वास्थ्य, सांस्कृतिक रिसोर्स, हुमेन केयर, आइटी, खेलकुद, तालिम, क्रिएटिभ डिजाइन, जनसम्पर्क बिभागहरु लगायत बिभिन्न विभागमा बिभाजन गर्दै संस्था सञ्चालन गरिने योजना छ ।