फिचर

विदेशबाट यात्रुले ल्याउन पाउने सुनको भन्सार महशुल बढ्यो

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउँदा यात्रुले बोक्न पाउने परिमाणको सुनमा लाग्दै आएको महशुल बढाएको छ । व्यवसायिक प्रयोजनमा भित्रने सुनसँगै आम व्यक्तिले बोकेर ल्याउन पाउने सुनमा समेत अब भन्सार बढेको छ ।

यात्रुले साविकमा भन्दा अब प्रतितोला कम्तिमा १५ सय रुपैयाँ बढी तिरेर मात्र भन्सारले पार गर्न दिने भएको छ । विदेशबाट आउँदा १ सय ग्राम सम्म सुन र १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउँछन् ।

तर, भन्सार तिरेर । ५० ग्रामसम्म सुनका गहना र १ सय ग्रामसम्म चाँदीका गहना भने बीना भन्सार नै भित्राउन सकिने प्रावधान रहेको छ । यसकाले चालो आर्थिक वर्ष भित्र दोस्रोपटक भन्सार बढाएको हो ।

विदेशबाट नेपाल आउँदा सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय तिरे पुग्नेमा अब ७ हजार ५ सय पुगेको छ । ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय तिरे पुग्नेमा अब ८ हजार ५ सय पुगेको छ ।

सुनका गहनामा ५० ग्रामसम्म बीना भन्सार ल्याउन पाइन्छ । त्यसभन्दा बढी थप १ सय ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय रहेकोमा अब ८ हजार ५ सय पुगेको छ ।

सुनका गहना १ सय ५० ग्रामभन्दा बढी थप १ सय ग्रामसम्म प्रति १० ग्राम ९ हजार रुपैयाँ तिरे पुग्नेमा अब १० हजार पुगेको छ ।

तोकिएभन्दा बढी सुन ल्याएमा भने जफत हुने र कानून अनुसार कारवाही समेत हुने प्रावधान रहेको छ ।

त्यसो त सरकारले व्यवसायिक प्रयोजनमा आउने सुन र चाँदीमा समेत भन्सार बढाएको छ । अब प्रतितोला ६५०० रुपैयाँ भन्सार तिरेपछि मात्र सुन भित्रन पाउँछ ।