स्वास्थ्य

राष्ट्रियता प्राथमिकतामा भन्दै केसीले तोडे अनसन

डडेलधुरा । डडेलधुरामा पुगेर अनसन थालेका डा. गोविन्द केसीले ९ औं दिनमा अनसन तोडेका छन् । मंगलबार उनले अनसन ताड्ने फैसला गरेका हुन् । यद्दपी उनी र राज्यबीचमा भने कुनै संवाद भएन् ।

चिकित्सा क्षेत्र सुधार र विगतका सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेका केसी सीमा विवादका कारण अहिले राष्ट्रियता प्राथमिक विषय भएको भन्दै अनसन फिर्ता लिने निष्कर्षमा पुगेका हुन् ।

उनले मंगलबार विज्ञप्ती जारी गर्दै राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि लडाइँ भने निरन्तर जारी रहने बताएका छन् । उनले नेपाली भूभाग भारतमा पारेर सार्वजनिक भएको भारतीय नक्साको समेत विरोध गरेका छन् ।

सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त भएको उनले उल्लेख गरेका छन् । कालापानीमा नेपाली भूमि मिचिएको सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा चिठी लेखी उनले काठमाडौंस्थित भारतीय दूतावासमा समेत पठाएका छन् ।