विश्व

बंगलादेशका राष्ट्रपति दिनभर उच्चस्तरीय भेटघाटमा, प्रचण्डको प्रशंसा

काठमाडौं । चार दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले उच्चस्तरी भेटवाता सम्पन्न गरेका छन् । उनी बुधबार दिनभर जसो व्यस्त रहे ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा भेटेका उनले उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, विपक्षी दलका नेता शेर बहादुर देउवासँग भेटवार्ता गरे ।

उच्चस्तरीय भेटका क्रममा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भने राष्ट्रपतिले प्रचण्डको खुलेर प्रशंसा गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रचण्ड भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाललगायतको टोलीसहित होटेल मेरियट पुगेका थिए।

राष्ट्रपतिले सोही होटेलमा बसेर उच्चस्तरीय भेटघाट गरे । भेटमा नेकपा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तन, जनयुद्ध , शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसर कमै मात्र नेतृत्वले पाउने भन्दै अनुभव साटेका थिए ।

राष्ट्रपति हमिदले पनि शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको प्रसंशा गरेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार राष्ट्रपतिले सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उनको प्रसंशा गरका थिए ।

बुधबार नै कांग्रेस सभापति शेर बहादुर देउवाले समेत राष्ट्रपतिलाई सोही होटेलमा पुगेर भेटवाता गरे ।

नेपाल र बंगलादेशबीचको सम्बन्ध मजबुत पार्ने विषयमा छलफल भएको कांग्रेसले जनाएको छ । राष्ट्रपति मंगलबार काठमाडौं आएका हुन् । उनी बिहीबार पोखरा जाने र आसपासमा घुम्ने कार्यक्रम रहेको छ ।