फिचर

सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?

काठमाडौं । सरकारले ललितपुरको खानेपानी आपूर्ति व्यवस्थापनका लागि प्रयास थालेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अन्तिमतर्फ पुग्दा अब काठमाडौं उपत्यकामा मकवानपुरजिल्लास्थित सिस्नेरी खोलाबाट खानेपानी आपुर्ति गर्न सकिने सम्भावनाबारे अध्ययन हुने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यसको तयारी समेत थालेको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन हुने बोर्डले जनाएको छ । मकवानपुरको सिस्नेरी र कोगटे खोलाबाट खानेपानी आयोजनाको निर्माण गरी पानी आपूर्तिको तयारी गरिएको छ ।

शुक्रबार खानेपानी मन्त्री बीना मगरसहितको टोलीले आयोजना स्थलको स्थलगत अध्ययन समेत गरेको छ । यी दुई खोलको पानीलाई जम्मा गरी ललितपुर जिल्लामा माग अनुसार खानेपानी वितरण गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ ।

सिस्नेरी खोलामा बाँध बाँधेर सिस्नेरी र कोगटेको पानी जम्मा गर्ने र सोही बाँधबाट ललितपुरसम्म खानेपानी आपूर्तिको योजना रहेको छ । बाँध १९० मिटर लामो र उचाई ७५ मिटर रहने प्रारम्भक अनुमान छ ।

आयोजना स्थलदेखि १९ किमी दूरीस्थित सैंबुमा प्रशोधन गर्ने र त्यहाँसम्म पम्पका माध्यमबाट पानी तान्ने योजना बनाईको छ ।

बोर्डका अनुसार यस आयोजनाबाट दैनिक १३ करोड लिटर पानी वितरण गर्न सक्ने सम्भावना रहेको छ । यस आयोजनालाई मेलम्चीको विकल्पका रुपमा अगाडी बढाउने योजना समेत छ ।

मेलम्चीमा समस्या आउँदा यस आयोजनाले आपूर्ति गर्ने गरी व्यवस्थापन मिलाइने भएको छ ।