समाचार

सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ

काठमाडौं । भारतले सीमा मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सरकारले आफ्नो धारणा सार्वजनिक गरेपनि प्रधानमन्त्रीले टिप्पणी गरेको पहिलो पटक हो । उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इन्च पनि भूभाग कसैले मिच्न नसक्ने उल्लेख गरे ।

उनले कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान समेत भारत सरकारलाई आग्रह गरे । उनले यसबीचमा सर्वदलीय बैठक राखेका छन्, भने अनौपचारिक रुपमा भने कुराकानी तिब्र बनाएका छन् ।

प्रधानमन्त्री अघिल्लो कार्यकालमा भने भारतले गरेको नाकाबन्दीमा खरो उत्रिएका थिए । यस पटक भने उनी मौन बसेको भन्दै आलोचना भएको थियो ।

त्यसो त विगत कैयौं वर्षदेखि मिचिएको सीमा अहिले नै मिचिएको जस्तो भनी गरिएको प्रचारबाजीमा समेत प्रधानमन्त्री असन्तुष्ट देखिएका थिए ।

आइतबार नेकपासम्बद्ध युवा संघ नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैले बलियो साथ दिएकोमा भने उनले आभार व्यक्त गरेका छन् ।

सरकारले कूटनीतिक संवादबाट समस्या समाधान गर्ने उनको आश्वासन थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय समूदायले पनि नेपाललाई पत्याउन थालेको र चर्चा गर्न थालेको भन्दै उनले उच्चस्तरीय भ्रमणहरु यसकै उपज भएको उल्लेख गरे ।