कला / साहित्य

युगीय प्रेमाङ्कुर

दिपा राई पुन

बोष्टन, अमेरिका।

 

आँखाको सिमसारमा 

तिम्रो कसम बरोबर 

झरी बर्षन्छ यादले पिल्सदा 

जूनको आँसु पिएर सदियौ देखि 

विहानी घामले मुस्काउँन कहाँ छाड्यो 

मलाई नि लाग्छ 

तिमीले चोट दिन चाहेको होइनौ 

समयले हामीलाई धोका दियो 

फलाम रापिएर आकार हुनुजस्तो 

जीवनले मलाई नि यो रुप दियो 

विस्मृतिको सेतुमा घाम लाग्दा 

वतासे याद बिउँझेर

मन कतै किन चस्कन्छ 

मायाको मीठो अनुभूत स्पन्दन 

आहतमा बाँचेको समय पल मेरो 

तिम्रो उन्मुक्त जीवनले 

उल्टै औला ठर्याएर

बेवास्ता भन्दियो ब्याख्या अन्जानमा 

विश्वासलाई डबली बजाएर 

काँडे तार हाल्नु पर्यो 

नचाहेर मैले आस्थाको सिमामा 

तिम्रो अन्तरचेत उघ्रिएर बोध गरोस 

युगको आफ्नै कथा 

भरोसाको लामो इतिहास 

तिमी मेरो हृदयको क्षितिजमा 

सधै उदाउँने घाम भएको 

मनमोहक आँखाको परेलीमा 

सपना संसार भई बाँचेको 

मुटुको प्रत्येक ढुकढुकीमा

एकलासपनको साथ हाँसेको 

नभए म कसरी सहू

तिम्रो आत्माले तिमीलाई धिकारेको  ?