रोचक खवर

विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा

न्युयोर्क

हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक म्याराथुनमा सफलता पूर्वक दौडिएपछि विश्वका सबै देशमा आयोजित म्याराथुनमा सफलता पूर्वक दौडिएको नयाँ रेकर्ड राख्न सफल भएका छन् । बटरले संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त १९६ देशहरुमा आयोजित सबै म्याराथुनमा दौडिने धाबकको नयाँ किर्तिमान राख्न सफल भएका हुन् । पहिलो पटक ११ बर्षको उमेरमा म्याराथुनमा भाग लिएका बटर बैंकिङ् कर्मचारी थिए ।  उनी बैंकमा काम गर्दै समय मिलाएर बिभिन्न देशमा आयोजित दौड प्रतियोगितामा भाग लिने गर्दै थिए । उनको दौड यात्रामा एक दिन साहारा मरुभुमीमा आयोजित एक दौड प्रतियोगितामा प्रोस्टेट क्यान्सर रोगबाट पीडित केबिन वेबरसँग भेट भयो । क्यान्सर रोगी केबिनले बटरलाई प्रोस्टेट क्यान्सर रोगीहरुको सहयोगको लागि अभियान बनाएर अर्थ संकलन गर्न उत्साहित गरे ।  बटरले आजसम्म कसैले पनि संसारका सबै देशको म्याराथुनमा कुदेको रेकर्ड नभएको थाहा पाएपछि पूर्णकालिन धावक बन्ने उत्साह ती क्यान्सर रोगीबाट प्राप्त गरे, र १९६ देशमा कुदेरै छाड्ने अठोट राखे ।  अन्त्यमा सन् २०१९ को नोभेम्बर १० तारिख उनको त्यो उद्देश्य पुरा भयो । साथमा प्रोस्टेट क्यान्सर रोगीहरुको सहयोगको लागि ८३ हजार अमेरिकी डलर समेत संकलन गर्न सफल भए ।  

बटरले समाचार संस्था सिएनएनसँग भनेका छन् “सबैले समयको महत्व बुझ्नु पर्दछ । रिटायर्डमेन्टको समय कुर्ने र ढुक्कसँग जीवन जिउने कल्पना गरेर बस्ने होईन । सबैले आफुले सकेको मनले चाहेको केही न केही गर्नै पर्छ ।” बटरको १० वटा पासपोर्टका सबै पाना बिभिन्न देशका भिसाले भरिएका छन् ।  कतीि पटक त जम्मा २४ घण्टाको लागि मात्र पनि भिसा लिन उनी आफ्नो देश बेलायत आएका थिए । बटरले आफ्नो अनुभव सुनाउदै भनेका छन्; “१९६ देश दौडने क्रममा कुकुरले टोक्यो । चक्कु देखाएर लुटियो ।जेलमा थुनियो । हजारौ मानिससँग कुदेको ।ज्वालामुखी नजिकै कुदेको । कतिपय देशको बिमानस्थलको रन वेमा समेत कुदेको जस्ता अनगिन्ती अनुभवहरु बटरले आफ्नो ईन्स्टाग्राम एकाउन्टमा लेखेका छन् ।  

ग्रिसमा भर्खरै सम्पन्न म्याराथुनपछि केही दिन बिश्राम लिए पनि चुप लागेर भने नबस्ने बटरले बताएका छन् ।