खेलकुद

पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

काठमाडौं । पाकिस्तान सुपर लीगको सिल्भर क्याटगोरीमा परेका खेलाडीको सूचि सोमबार सार्वजनिक भएको छ । यस सूचिमा नेपालबाट ७ खेलाडीको नाम परेको हो । सूचिमा पूर्वकप्तान पारस खड्कासहित ७ जना क्रिकेटर परेका छन् ।

त्यसमध्ये कसलाई टीमहरुले छनोट गर्छन्, त्यसका आधारमा खेलाडीको भाग्य चम्कने छ । सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससहित नेपालबाट आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् ।

पारस, शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा नाम पठाएको बताइएको छ । आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको हो ।

यस प्रतियोगिताका लागि स्टार खेलाडी सन्दीप लामिछाने भने ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका छन् । उक्त क्याटगोरीबाट कुनै टीमले किनेमा उनी अहिलेसम्मकै महंगो मूल्यमा आवद्ध हुनेछन् ।

सन्दीप छनोट भए भने उनको कमाई कम्तीमा १ लाख ४७ हजार देखि बढीमा २ लाख १८ हजार डलरसम्म हुनेछ । सिल्भर क्याटगरीमा पर्ने खेलाडीको भागमा भने १५ हजार डलर देखि ३५ हजार अमेरिकी डलरसम्म हुनेछ ।