डायस्पोरा

नेपाल भ्रमण वर्ष सफल बनाउन न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने

कल्पना घिमिरे
न्युयोर्क/अमेरिका
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन अमेरिकाको न्यूयोर्कमा बिभिन्न कार्यक्रम गरिने भएको छ । न्युयोर्कस्थित नेपाली महाबाणिज्य दुतावासले आइतबार नेपाली समुदायसंग छलफल गर्दै आगामी दिनमा गरिने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो ।
सन् २०२० को मे महिनामा १५ र १६ गते न्युयोर्कमा पर्यटकीय र सांस्कृतिक कार्यक्रम गर्ने तय भएको छ । हिन्दु (भारतीय) र बौद्ध धर्मावलम्बीलाई तार्गेट गरेर १५ र १६ मा फ्लसिङको गणेश मन्दिरमा गरिने ‘कल्चरल समिट’मा नेपालको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, मिथिला आर्ट, लगायतको महत्वबारे जानकारी गराइनेछ । र, सबै समुदायको सहभागितामा भ्रमण वर्षको प्रचारप्रसारलाई तिब्र बनाइनेछ । साथै नेपाली भाषा, कला, संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमहरु गरिनेछ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन न्यूयोर्कमा सञ्चालित संघसंस्थाहरुले के कस्तो भुमिका खेल्न सक्छन् भन्नेबारे पनि छलफल गरिएको थियो । महाबाणिज्यदूत पुष्पराज भट्टराईका अनुसार सहभागीहरुले बिभिन्न सुझाबहरु दिएको बताए ।
विश्वकै पुरानो शहर न्युयोर्कमा विश्वभरबाट आएका आप्रवासीहरुलाई नेपाली मौलिक सांस्कृतिक सम्पदा तथा नेपालमा रहेका विभिन्न धार्मिक पर्यटकीय सम्पदाको जानकारी गराउन सके ‘भिजिट नेपाल २०२०’ लाई महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ थियो ।
‘न्यूयोर्क टाइम्स’ले हरेक वर्ष आयोजना गर्ने ‘न्यूयोर्क टाइम्स ट्राभल सो’ मा नेपालको सहभागीता रहने पनि उनले जानकारी दिए । एसिया अन्तरगत राखिने स्टलमा आगामी जनवरी २४ देखि २६ सम्म नेपालबाटै आएका ब्यबसायीहरुले आफ्ना सामानको प्रदर्शनी, बिक्री वितरण र प्रचारप्रसार गर्नेछन् । त्यसै कार्यक्रमलाई तार्गेट गरेर थुप्रै टुरिज्म ब्यवसायीहरु नेपालबाट आउने तयारी भइरहेको छ । नेपाल टुरिज्म बोर्डले उपलब्ध गराएका भ्रमण वर्ष २०२० का प्रचारप्रसारका सामाग्रीहरु सहित १२ जना ब्यवसायीले स्टल राख्ने भएका छन् ।

उनका अनुसार न्यूयोर्क शहरको बिभिन्न ठाँउहरुमा ठूल्ठूला होडिङ बोर्ड राख्नको लागि प्रयास भइरहेको छ । ‘यहाँका मुख्य अखबार र टेलिभिजन च्यानलहरुमा पनि बिज्ञापन दिने तयारी गरिरहेका छौं’ महाबाणिज्यदूत भट्टराईले भने ।
कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले नेपालको पर्यटन विकास लाई प्रभावकारी र दिगो बनाउन नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती र त्यहाँको अध्यागमन सेवालाई चुस्त र दुरुस्त बनाउन सुझाव दिएका थिए । बाह्य पर्यटकका लागि मात्र होइन बिदेशमा बसोबास गरिरहेका नेपालीलाई नै नेपाल भ्रमण वर्ष २०२० मा आफ्नो मुलुकको भ्रमण गर्न प्रोत्साहन गर्नुपर्ने लगायत सहभागीको सुझाव थियो ।
भ्रमण बर्षको मोवाइल एप्स तथा सामाजिक सञ्जालबाटपनि प्रचारप्रसारलाई तिब्र बनाउन सकिने सुझाएका थिए । र, इमेल र इन्टरनेटबाट प्रसारप्रचारलाई चुस्त दुरुस्त बनाउन सकिने बताइएको थियो ।
पछिल्लो समय नेपाली महाबाणिज्यदूतावासले पनि भिजिट नेपाल २०२० को प्रसारप्रचारमा सक्रियता बढाएको उनले बताए । ‘भर्खरै कनेक्टिकटमा भएको पार्क रोड परेडमा भाग लिएर फर्कियौं । स्थानीय स्तरमा नेपाल भ्रमण बर्ष बारेका पर्चा, पम्प्लेटहरु बितरण ग¥यौं, स्थानीय जनप्रतिनिधिहरुसंग यसबारे कुराकानी ग¥यौं । केही समय अघि टाइम्स स्क्वायरको मुख्य चोकमा भिजिट नेपाल २०२० को ब्यानर लिएर भेला भएका थियौं’ महाबाणिज्यदूत भट्टराईले भने ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष सोनाम लामा, निवर्तमान पर्यटनदूत प्रदिप श्रेष्ठ, नेपाल आदीवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष मानबहादुर रानामगर नेपाल तरुण दल अमेरिकाका कार्यवाहक अध्यक्ष अनन्त सुवेदी, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।