समाचार

आज होला मन्त्रीपरिषद् पुनर्गठन ?

काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनले राजनीतिक माहौल तातेको एक महिना नाघिसक्यो । तर, यसले मुर्तरुप पाउन भने सकेको छैन । तर, मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम तयारी भने भइरहेको बताइएको छ ।

सम्भवतः बुधबार यसले मुर्तरुप पाउने संकेत नेताहरुले गरेका छन् । मंगलबार मन्त्रीपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत गरिसकेका छन् ।

त्यसो त मन्त्रीपरिषद्का केही सदस्यलाई बिदाई दिने तयारी लामो समयदेखि नै भएको हो । तर, नेकपा अध्यक्ष प्रचण्डसँगको सहमतिका कारण प्रधानमन्त्रीले मन्त्रीहरु हटाइहाल्न सकेका छैनन् ।

प्रचण्ड प्याकेजमै सहमती कार्यान्वयनको पक्षमा छन् । यसको मतलव उनले कि मन्त्रीपरिषद्को नेतृत्व पाउनु पर्छ या पार्टीको कार्यकारी भूमिका निर्वाह गर्न पाउनु पर्छ ।

अहिले पार्टी दुई अध्यक्षकै नेतृत्वमा चलिरहेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरुको पुनर्गठन हुने र त्यसक्रममा केही मन्त्री बाहिरिने तथा केही भित्रने समेत जानकारी गराएका छन् ।

यसले सम्भवतः आजै वा केही दिन भित्रै मुलुकले नयाँ अनुहारमा मन्त्रीहरु पाउने संकेत निश्चित गरेको छ ।